दिपेश श्रेष्ठ, खाेटाङ। खोटाङको दिप्रुङ चुइचुम्मा–१ खमारेस्थित श्री देवी आधारभूत विद्यालयमा स्व. बाबुराम सिग्देलका स्मृतिमा “स्मृति अक्षयकोष २०८२” स्थापना गरिएको छ। २०८२ मंसिर १५ आइतबार आयोजित कार्यक्रममा अक्षयकोषका संस्थापक तथा सिग्देल परिवारका सदस्यहरूले विद्यालयलाई रु. १,५१,५५५ नगद हस्तान्तरण गरेका हुन्। उक्त रकमबाट प्राप्त हुने ब्याज प्रत्येक वर्ष विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिका रूपमा वितरण गरिने जनाइएको छ।
कार्यक्रममा बोल्दै संस्थापक शुबास सिग्देलले शिक्षा नै जीवन परिवर्तन गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै सानो पहलले पनि विद्यार्थीहरूको भविष्य उज्यालो बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले अक्षयकोषमार्फत निरन्तर शैक्षिक सहयोग जारी रहने प्रतिबद्धता समेत जनाए।
सिग्देल परिवारको उक्त विद्यालयसँग लामो सम्बन्ध रहँदै आएको छ। विद्यालय व्यवस्थापन समितिको पहिलो अध्यक्ष स्व. नारायणप्रसाद सिग्देल रहनुका साथै परिवारका अन्य सदस्यहरूले पनि सोही विद्यालयबाट शिक्षा हासिल गरेका थिए। कार्यक्रममा शिक्षक, अभिभावक तथा स्थानीय व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
