दिपेश श्रेष्ठ,काठमाडौं । नेपाल पत्रकार संघ विक्रम संवत् २००८ वैशाख ९ गते सत्यनारायणबहादुर श्रेष्ठको संयोजकत्वमा स्थापना भएको ऐतिहासिक तथ्यहरू सार्वजनिक रूपमा उपलब्ध हुँदाहुँदै पनि हाल केही पक्षले फरक मितिलाई ‘स्थापना दिवस’ का रूपमा प्रचार गर्दै भ्रम सिर्जना गरेको आरोप उठेको छ। पुराना अभिलेख, दस्तावेज तथा समकालीन साक्ष्यहरूले उक्त मितिलाई पुष्टि गर्ने बताइए पनि त्यसलाई नजरअन्दाज गरिएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
इतिहासविद् तथा सञ्चार क्षेत्रका जानकारहरूका अनुसार सत्यनारायणबहादुर श्रेष्ठको नेतृत्वमा गठन भएको नेपाल पत्रकार संघ नै देशको पत्रकारिताको संगठित सुरुआत मानिन्छ। तर पछिल्ला वर्षहरूमा राजनीतिक प्रभावमा परेका केही समूहले फरक व्याख्या अघि सार्दै आधिकारिकता स्थापित गर्न खोजेको आरोप लागिरहेको छ। यसले संस्थागत इतिहासलाई तोडमोड गर्ने जोखिम बढाएको उनीहरूको भनाइ छ।
यस्तै, संस्थापक नेतृत्वलाई ओझेलमा पार्ने प्रवृत्ति देखिएको भन्दै आलोचना पनि बढ्दै गएको छ। कतिपय विश्लेषकहरूले यो प्रवृत्तिलाई संरचनागत विभेदको रूपमा व्याख्या गर्दै इतिहास निर्माणमा योगदान पुर्याएका व्यक्तिहरूलाई उचित स्थान नदिइएको बताएका छन्। यसले नयाँ पुस्तामा गलत सन्देश जाने र वास्तविक योगदानकर्ताहरूको मूल्यांकन नहुने खतरा औंल्याइएको छ।
यस विवादबीच सम्बन्धित निकायहरूलाई प्रमाणका आधारमा स्पष्ट धारणा सार्वजनिक गर्न र ऐतिहासिक तथ्यहरूको संरक्षण गर्न आग्रह गरिएको छ। सञ्चार क्षेत्रभित्रै उठेको यो बहसले पारदर्शिता, सत्यता र इतिहासप्रतिको जिम्मेवारीलाई पुनः केन्द्रमा ल्याएको छ।
