दिपेश श्रेष्ठ, काठमाडौं । काभ्रे जिल्ला अन्तर्गत रोशी गाउँपालिका–१ को नाराणटार क्षेत्रमा हिजो (२०८२ चैत १३ गते) परेको अविरल वर्षापछि आएको बाढीले ठूलो क्षति पुर्याएको छ। स्थानीयका अनुसार अचानक आएको बाढीले बस्ती आसपासका क्षेत्र डुबानमा परेका छन् भने जनजीवन प्रभावित बनेको छ। सडक, खेतीयोग्य जमिन तथा संरचनाहरूमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
यसै क्रममा बि.पी. राजमार्ग क्षेत्रमा सडक निर्माण कार्यमा संलग्न रोशी–७ निवासी कुन्साङ तामाङलाई बाढीले बगाउँदा उनको दुःखद निधन भएको पुष्टि भएको छ। घटनाप्रति स्थानीयवासी तथा सम्बन्धित निकायले गहिरो दुःख व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, पीडित परिवारप्रति समवेदना व्यक्त गरिएको छ।
उक्त घटनापछि स्थानीयवासीले प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्य प्रभावकारी बनाउन सम्बन्धित राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराएका छन्। साथै, श्रम संस्कृतिका अभियन्ता हर्क साम्पाङ लगायत सामाजिक अभियन्ताहरूलाई समेत श्रमदानमार्फत सहयोगका लागि आग्रह गरिएको छ, ताकि पीडित क्षेत्रको पुनःस्थापना छिटो हुन सकोस्।
