किन लाग्छ राम्रो दिन कहिल्यै आउँदैन ,
भाग्यले नि ला-ला भन्दै दिन आउँदैन
लक्ष्य पूरा नगरी त के-को जाने कुरा गर्नु
मृत्यु पनि बेला नभई लिन आउँदैन !!
जिन्दगीमा अवसरहरू आउँछन् तर त्यो हामीमा भर पर्छ कि हामी त्यो अवसरलाई कति ठूलो,कति महत्वपूर्ण बनाउँछौं । जब त्यो मौका गुमाउँछौं त हामी के गर्छौं….?
एकजना गुरु जसलाई आफ्नो शिष्यप्रति निकै भरोसा थियो। उसको क्षमताप्रति,उसको दिमाग प्रति । तर समस्या थियो उसको अल्छीपन । उसको त्यो अल्छीपन उसका लागि कति हानिकारक छ भनेर शिष्यलाई महसुस गराउनका लागि गुरुले शिष्यलाई भने “तिमी मेरो प्रिय शिष्य हौ दुविधा छैन। म दुई दिनका लागि गाउँ जान्छु । मसँग एउटा विशेष खालको ढुङ्गा (शालिकराम) छ। म यसलाई गाउँमा लिएर जादिन। दुई दिनका लागि यो ढुंगा म तिमीलाई छोड्छु । यो ढुंगाको खासियत भनेको जब तिमी यो ढुंगालाई कुनै फलामसँग छुवाउँछौ त्यो फलाम सुन बन्छ । कताकता मनमा शङ्का त लाग्यो शिष्यलाई तर गुरुको बोलीमा शङ्का गर्नपर्ने आजसम्म कुनै आधार थिएन । उसको अनुहारमा खुसीको रङ्ग पोतिएको थियो । उसले सोच्यो अब मेरो जिन्दगीमा कुनै चिजको कमी हुने छैन । मसँग यति सुन हुनेछ कि मलाई जिन्दगीभर काम गर्न जरुरत नै हुने छैन । रङ्गीन सपना देख्दै कल्पनामा डुब्दै घरमा पुग्यो। सोच्यो ,आज साँझ पर्न थाल्यो दुई दिन बाँकी नै छ। आज सुत्छु भोलि यो ढुङ्गाको उपयोग गर्नुपर्ला । भोलिपल्ट पनि यो त्यही गर्यो । खाना खाएपछि एकछिन सुत्नु पर्यो, आराम चाहियो, भोलिको दिन बाँकी नै छ राख्यो भोलिलाई। भोलि पल्ट खाना खाएर एकछिन यसो के पल्टिएको थियो झल्या्स याद आयो कि आज त गुरु फर्कने दिन । ढुङ्गा त फिर्ता दिनुपर्ने होला । छिटो छिटो त्यो अद्भुत ढुंगा लिएर घरमा भएका फलाम पनि होइन फलाम नै फलाम भएको ठाउँमा निस्कँदै थियो गुरु आए टुप्लुक्क । आग्रह गर्दै थियो अरु केही समय दिनुहोस् गुरु। गुरुजीले भने “माफ गरिदेउ, ४८ घण्टाका लागि यो ढुंगाको महत्व पनि बुझाएर तिमीलाई छोडेर गएँ । तिमीलाई मौका मिलेको थियो तर तिमीले सही समयमा सही उपयोग गरेनौ । गुरु ढुङ्गा लिएर गए । शिष्य पछुताउन थाल्यो ।
यदि तपाईँहरूलाई याद छ भने केही समय पहिला राम र सीताको कहानी सुनाएको थिएँ । राम जसले आफूसँग भएको पैसा दिन उमेरमा सकेपछि बुढेसकालमा रोगी बाउआमाको उपचार गर्ने पैसा थिएन। उसलाई पैसाको अत्यन्तै जरुरत थियो । ऊ एकदिन एकजना ज्योतिषकोमा गएर भन्यो “गुरु मेरा बाबाआमाको उपचारका लागि पैसाको अत्यन्तै जरुरत छ मैले के काम गर्दा ठिक होला हातको रेखा हेरिदिनुस् ।” ज्योतिषीले उसको हात हेर्दै भने “एउटा बाटो छ । कस्तो बाटो…? उस्ले सोध्यो । रामलाई एउटा नदी किनारमा लिएर गए र भने हेर यो किनारामा जति पनि ढुङ्गाहरु छन्, यी मध्ये एउटा ढुङ्गा यस्तो छ जसले जुन चिजलाई छोयो त्यो चिज सुन बन्छ । त्यो सुनेर रामको अनुहारमा सुनको जस्तै चमक आयो तर शङ्काको भावले सोध्यो यस्तो पनि हुन्छ र…? हुन्छ। कसरी थाहा पाउने त त्यो ढुङ्गा ? ज्योतिषले भने बाँकी सारा ढुङ्गा र त्यो ढुङ्गामा फरक केवल यति नै छ सबै ढुंगा जब तिमी उचाल्छौ चिसा हुन्छन् तर त्यो ढुङ्गा केही मनतातो हुन्छ। त्यो तातो तिमीले महसुस गर्नेछौ ।
रामले त्यही दिनदेखि काम सुरु गर्छ । एकएक ढुङ्गा उठाउँछ चिसो महसुस हुन्छ अनि समुद्रमा फालिदिन्छ। ऊ समझदार थियो ऊ नदीमा ढुङ्गा यसकारण फाल्दै थियो कि दोबारा त्यही ढुङ्गा उठाउन नपरोस् । दिलो ज्यान लगाएर ढुङ्गा दैनिक ७/८ घण्टा उठाउँदै नदीमा फाल्दै गर्न थाल्यो । उसको कामको गति बढ्न थाल्यो । तीन तीन महिना भइसक्यो तर ढुङ्गा मिलेको थिएन । कताकता मनमा शङ्का पनि थियो तर सबभन्दा बढी भरोसा थियो त्यो ढुंगा भेटिन्छ भेटिन्छ भन्नेमा थियो। उ यति तीव्र गतिमा काम गर्ने भइसकेको थियो कि पहिला जति ध्यान दिएर ढुङ्गालाई समाउथ्यो आजकल त्यति ध्यान दिन्नथ्यो । एकदम फटाफट । एकदिन त्यो तातो ढुङ्गा हात लाग्यो त्यो ढुङ्गा हातमा उठायो फालिदियो । किनकि उसको त अटो मुडमा (स्वचालित) काम गर्ने आदत बनिसकेको थियो । ढुंगा फाल्ना साथ टाउको समाउन थाल्यो “लौ बर्बाद भयो”। थाहा पाइसकेको थियो कि त्यो ढुंगा तातो छ। तर उसको त स्पिड (गति) बढेको थियो हातमा आयो फालिदियो । तिन तिन महिनाको मेहनत….अब त्यो ढुंगा मिल्ने सम्भावना थिएन ।
यो दुईटै कथाको सारांश यो हो कि यसरी नै हाम्रा सामान्य दिनहरूबाट निस्केको हुन्छ हाम्रो विशेष दिन । त्यो दिन एउटा मौका लिएर आउँछ हाम्रो जीवन बदल्नका लागि । तर हाम्रो आदत बनेको हुन्छ हर दिनलाई ,हर चिजलाई हल्का लिने ,सामान्य रुपमा लिने। सायद त्यो मौका पनि आँखाका सामनेबाट यसै निस्कन्छ जान्छ र हामी चिन्न सक्दैनौं या चिनेर पनि सम्हाल्न सक्दैनौँ । त्यसैगरी कोही कोही व्यक्ति हाम्रा लागि अवसर लिएर आएका हुन्छन् तर हामी लिन चाहँदैन किनकि हामीलाई शङ्का गर्ने आदत छ अनि इग्नोर गर्छौं। यसले त कतै मसँग फाइदा लुट्न आएको त होइन…. के छ लुटाउनका लागि ? सबैलाई ,सबैको बोलीलाई हल्काफुल्का रुपमा नलिउँ। कतै प्रयोग गर्न जानियो भने जीवन बदल्ने औजार (tools)बन्न सक्छ । त्यो मौकालाई सदुपयोग गर्न सकियो भने ,काम गर्यो भने जीवन बदलिन्छ । नबदलिए पनि पाठ त सिकिन्छ। त्यसैले आफ्नो हर दिनलाई, हरेक व्यक्तिलाई ,हरेक बोलीलाई मूल्याङ्कन गर्न सिक्नुहोस् । खास बनाउन सिक्नुस् । नत्र पछुताउनुको विकल्प रहँदैन । त्यसले जीवनलाई एकदिन खास बनाउनेछ।
श्रीराम रानाभाट पोखरा, हाल युएई
