कृष्ण कुँवर। सर्वसाधारण नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले पर्वत जिल्लाको फलेवास नगरपालिका–६, देवीस्थानमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
यही चैत १४ गते शनिबार आयोजना हुने उक्त शिविरमा मुटुरोग विशेषज्ञद्वारा मुटुसम्बन्धी विस्तृत परीक्षण, मधुमेह (सुगर) तथा रक्तचाप (प्रेसर) जाँच, साथै सामान्य रोगहरूको परीक्षण र परामर्श सेवा प्रदान गरिनेछ। शिविरमा कार्डियो–डायबेटिक सम्बन्धी विशेषज्ञ सेवा समेत उपलब्ध रहने जनाइएको छ।
शिविरको आयोजना ग्लोबल पर्वत समाजद्वारा गरिएको हो भने सह–आयोजनामा ओम मेगाश्री फार्मास्युटिकल्स तथा मेडिप्लस अस्पताल ट्रमा सेन्टर रहेका छन्। कार्यक्रमको व्यवस्थापन फलेवास नगरपालिका कार्यालयले गर्नेछ।
समयमै स्वास्थ्य परीक्षण गराउँदा जटिल रोगबाट बच्न सकिने भएकाले स्थानीयवासीलाई शिविरमा सहभागी हुन आग्रह गरिएको अन्तर्राष्ट्रिय पर्वत समाजका कोषाध्यक्ष, पर्वत समाज यूएईका निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार तिलक सापकोटाले जानकारी दिएका हुन्।
