कृष्ण कुँवर -झापा, अर्जुनधारा नगरपालिका–६ का ५८ वर्षीय विजय लिम्बु हम्मर प्रहारबाट गम्भीर घाइते भएका छन्। हाल उनी बिर्तासिटी अस्पतालमा अचेत अवस्थामा उपचाररत छन्।
स्थानीयका अनुसार १५ वर्षीय एक बालकले फलामको हम्मरले टाउकोमा पटक–पटक प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका हुन्।
घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए भने प्रहार गर्ने बालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ।
घटनाअनुसार, घरमा कुकुर हेरिरहेका लिम्बुले बालकलाई कुकुर नजिस्क्याउन भनेपछि बालक रिसाएको थियो। त्यसपछि उसले हम्मर प्रयोग गरी आक्रमण गरेको बताइएको छ।
स्थानीयका अनुसार ती बालकको व्यवहार पहिलेदेखि नै आक्रामक रहेको र गाउँका मानिसहरूलाई तर्साउने तथा कुटपिट गर्ने प्रवृत्ति रहेको थियो।
दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका लिम्बुको परिवार आर्थिक रूपमा कमजोर रहेको छ। उपचारका क्रममा ४ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको र अझै कति रकम लाग्छ भन्ने अनिश्चित छ । तर रकम अभावका कारण उपचारमा समस्या भएको स्थानीय तारा प्रधानले जानकारी दिएकी छन्।
बालकको परिवारबाट समेत कुनै आर्थिक सहयोग नभएको र पीडितको अवस्था अझै गम्भीर रहेको जनाइएको छ। लिम्बुको श्रीमतीले सबै नेपालीलाई सहयोग गरी आफ्ना श्रीमानको ज्यान बचाइदिन अपिल गरेकी छन्।
सहयोगका लागि:
तारादेवी प्रधान प्रभु बैंक
खाता नं.: ०१२०२४२०६२८०००१२
सम्पर्क: ९७०३२९८९७७
