कृष्ण कुँवर -अबुधाबी— दुबई तथा अन्य उत्तरी इमिरेट्समा बसोबास गर्ने नेपाली नागरिकमध्ये सन् २०२६ डिसेम्बरभित्र राहदानीको म्याद सकिने व्यक्तिहरूलाई सकेसम्म आगामी एक महिनाभित्र नवीकरणका लागि आवेदन दिन नेपाली महावाणिज्यदूतावास दुबईले आग्रह गरेको छ।
महावाणिज्यदूतावासले जारी गरेको सूचनाअनुसार राहदानी विभाग, काठमाडौंले राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी गरिरहेको छ। हाल प्रयोगमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा परिवर्तन (स्विच) हुने क्रममा राहदानी सेवा केही समय प्रभावित हुन सक्ने जनाइएको छ।
सो क्रममा राहदानी सेवा करिब २ देखि ३ हप्तासम्म बन्द हुन सक्ने र नयाँ प्रणाली सुरु भए पनि सेवा पूर्ण रूपमा नियमित हुन २ देखि ३ महिना लाग्न सक्ने महावाणिज्यदूतावासले जनाएको छ।
यस अवस्थालाई ध्यानमा राख्दै सन् २०२६ डिसेम्बरसम्म राहदानीको म्याद सकिन सक्ने नेपाली नागरिकलाई ढिलाइ नगरी छिट्टै नवीकरणका लागि आवेदन दिन आग्रह गरिएको हो।राहदानी नवीकरणका लागि अनलाइनमार्फत आवेदन फाराम भर्न सकिने व्यवस्था रहेको छ। आवेदकले फाराम भरेपछि दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा तोकिएको मितिमा उपस्थित भई आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन्।
आवेदनको संख्या अत्यधिक भएमा बिदाको दिन वा कार्यालय समयपछि पनि पूर्वसूचना दिएर सेवा प्रदान गरिने महावाणिज्यदूतावासले जनाएको छ।
