काठमाडौं । विभिन्न जेन जी समूह मिलाएर बनाइएको ‘जेनजी मुभमेन्ट अलायन्स’ले गौरीबहादुर कार्की नेतृत्वको जाँझबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ । अभियन्ताहरु अमित खनाल, मजिद अन्सारी, जय गुप्ता लगायतले आज सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
विगतमा बनेका आयोगका प्रतिवेदनजस्तै कार्की आयोगको प्रतिवेदन पनि दराजमै सिमित हुने हो कि भन्ने नागरिकमा आशंका पैदा भएको पत्रमा उल्लेख छ । ‘यदि त्यसो भयो भने जेनजीको रगत र पसिनाको जगमा उभिएको यो अन्तरिम सरकारले सम्पुर्ण जनआन्दोलनप्रति नै विश्वासघात गरेको ठहरिनेछ’, उनीहरुको निष्कर्ष छ, ‘यस्तो कदमले यहाँको नेतृत्व र मन्त्रिपरिषदका सदस्य साथै आयोगका पदाधिकारीहरुको छविमा कहिल्यै नमेटिने कलंक लाग्ने निश्चित छ ।’
जेनजी अभियन्ताहरुले निर्वाचनलगत्तै कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्रीको प्रतिबद्धता समेत मागेका छन् । उता, रक्षा बम नेतृत्वको ‘जेनजी फ्रन्ट नेपाल’ले पनि सरकारको नियतमाथि प्रश्न उठाएको छ । उक्त समूहले एक विज्ञप्ति जारी गरेर कार्की नेतृत्वको अन्तरिम सरकारले नै उक्त आयोगको प्रतिवेदन सार्वजनिक गरेर कार्यान्वयनको आधार तयार गर्नुपर्ने बताएको हो । ‘निर्वाचन मात्र नभई गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँझबुझ आयोगले भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानविन गरी यही अन्तरिम सरकारले प्रतिवेदन सार्वजनिक गरी दोषीलाई न्यायोचित कारवाही गर्ने प्रक्रिया अघि बढाउँछ भन्ने हाम्रो अपेक्षा थियो’, उनीहरुले भनेका छन्, ‘तर पछिल्लो समय आयोगको म्याद पटक पटक थपिदै जानु र निर्वाचनपछि फागुन २२ गतेसम्मका लागि म्याद थपिएको अवस्थाले हामीलाई गम्भीर रुपमा चिन्तित बनाएको छ ।’
