आज फाप्ला स्पोट्र्स क्लबको आयोजनामा आयोजित स्वागत कार्यक्रममा बोल्दै नेता आलेले धनगढीलाई क्रिकेटको सहरका रूपमा स्थापित गर्न फाप्ला खेल मैदानलाई आधुनिक पूर्वाधारसहितको अन्तर्राष्ट्रिय क्रिकेट मैदान र बहुउद्देश्यीय खेलग्राम बनाइने बताउनुभयो ।
उहाँले खेलकुद विकासले युवालाई अनुशासित, सक्षम र आत्मनिर्भर बनाउने भएकाले यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “धनगढी क्रिकेटको सहरका रूपमा परिचित हुँदै गएको छ । यही पहिचानलाई अझ मजबुत बनाउन फाप्ला खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्रामका रूपमा विकास गर्न आवश्यक सम्पूर्ण पहल गर्नेछु ।”
आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ता गराइसक्नुभएका नेता आलेले चुनावी प्रतिबद्धताअन्तर्गत कैलाली क्षेत्रको समग्र विकाससँगै खेलकुदलाई मुख्य प्राथमिकतामा राख्ने बताउनुभयो ।
उहाँले सुदूरपश्चिम प्रदेशमा खेलकुद पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरका संरचना निर्माणबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने वातावरण बन्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “कैलालीसहित समग्र सुदूरपश्चिम क्षेत्रमा खेलकुद, पर्यटन र भौतिक पूर्वाधार विकास मेरा पहिलो प्राथमिकता हुन् । बन्दुकबाट निस्केको गोली र प्रेम आलेको मुखबाट निस्केको बोली एउटै हुन्छ । मैले बोलेको कुरा पूरा गरेरै छाड्छु ।”
प्रदेशको समृद्धि र पहिचानसँग पनि खेलकुद पूर्वाधार जोडिएको उल्लेख गर्दै नेता आलेले फाप्ला खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान र खेलग्रामका रूपमा विकास गर्नु अपरिहार्य रहेको बताउनुभयो । यसले स्थानीय युवालाई अवसर सिर्जना गर्नुका साथै खेल पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उहाँको भनाइ थियो ।
सोही कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य रमेश धामीले फाप्ला खेल मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेलग्रामका रूपमा विकास गर्न सके सुदूरपश्चिमको खेल क्षेत्रले ऐतिहासिक फड्को मार्ने बताउनुभयो ।
उहाँले नेता आलेले बोलेको कुरा पूरा गर्ने क्षमता र अनुभव दुवै रहेको उल्लेख गर्दै यो महत्वाकांक्षी योजना सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान र खेलग्राम बनाउन सके यहाँको खेलकुद क्षेत्रमा ठूलो उपलब्धि हुनेछ । त्यो काम प्रेम आलेले गर्न सक्छन् र गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।”
यसैगरी फाप्ला स्पोट्र्स क्लबका अध्यक्ष किशोर शाहीले सुदूरपश्चिम प्रदेशमा हालसम्म अन्तर्राष्ट्रिय स्तरको खेल रंगशाला नहुँदा खेलाडीहरू अवसरबाट वञ्चित हुँदै आएको बताउनुभयो ।
उहाँले फाप्ला खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन संघीय तथा प्रदेश सरकारको आवश्यक सहयोगको माग गर्नुभयो ।
उहाँले भन्नुभयो, “हामीसँग अन्तर्राष्ट्रिय स्तरको रंगशाला छैन । यहाँका खेलाडीहरूमा क्षमता भए पनि पूर्वाधारको अभाव छ । फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनका लागि आवश्यक सम्पूर्ण सहयोग गर्न म पूर्वमन्त्री प्रेम आलेज्यूलाई आग्रह गर्दछु ।”
फाप्ला खेल मैदानमा यसअघि पनि पटक–पटक प्रदेश तथा संघीय सरकारले खेल मैदान निर्माणका लागि बजेट विनियोजन गर्दै आएको भए पनि जग्गा प्राप्तिको प्रक्रिया अगाडि नबढ्दा योजना कार्यान्वयन हुन नसकेको बताइएको छ ।
