श्रीराम रानाभाट युएई। अङ्ग्रेजी नयाँ वर्ष २०२६ एवं नेपाली टोपी दिवस २०८२ को सुवर्ण अवसरमा कास्की आदर्श समाज, युएईको आयोजनामा दुबई स्थित लब लेक (LOVE LAKE) पार्कमा “शुभकामना आदानप्रदान तथा रमाइलो वनभोज कार्यक्रम” सम्पन्न भएको छ।
समाजका उपाध्यक्ष श्रीराम रानाभाटको संयोजकत्व तथा महिला समिति सह कोषाध्यक्ष पूर्णिमा घिसिङको सह-सयोजकत्वमा आयोजित यस कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष शिवराज बस्ताकोटी र प्रमुख अतिथिमा समाजका संरक्षक संयोजक राजेश श्रेष्ठले गरेका थिए ।
करिब ४०० को हाराहारीमा उपस्थित यस वनभोज कार्यक्रममा घैँटो फुटाउने, रसी तानातान तथा तातो आलु लगायतका खेलहरूले कार्यक्रममा छुट्टै रौनकता प्रदान गरेको थियो । परदेशी लोक चौतारी तथा तमु प्ये ल्हु संघ लगायत विभिन्न कलाकारले दोहोरी गीत तथा नृत्य गरेर कार्यक्रमलाई छुट्टै मनोरञ्जन प्रदान गरिरहेका थिए ।
सांगीतिक कार्यक्रमको सिलसिलामा यूएई मा पुगेकी कास्की जिल्ला मादी गाउँपालिका ७ नागिधार निवासी कस्केली कलाकार उषा गुरुङ लाई समाजको तर्फबाट दोसल्ला,मायाको चिनो र सम्मानपत्रले सम्मान गरिएको थियो ।
यस वनभोज कार्यक्रमको थप आकर्षणका रूपमा समाजको महिला समितिको तर्फबाट खुलाइएको भाग्यशाली चिठा तथा उपस्थित सम्पूर्णको लागि प्रभुमनि ट्रान्सफर एवं प्रभु बैंक, हिमाल रेमिट तथा कान्तिपुर ट्राभल एच.आर. कन्सल्टेन्सी साथै मनोज कुमार सैजु र राजेश श्रेष्ठको तर्फबाट प्रायोजित आकर्षक उपहार हरूको भाग्यशाली चिठ्ठा खुलाइएको थियो जसमा महिला समितिद्वारा खुलाइएको भाग्य चिठाका विजेताहरू क्र.म.श. भानुभक्त थताल, कृष्ण गुरुङ ,राजु तिमिल्सीना तथा ज्ञानेन्द्र खनाल थिए भने प्रायोजकहरूका उपहार विजेतामा क्र.म.श. राजकुमार लोहार, गोपाल अधिकारी,विष्णुमाया पौडेल तथा माया गुरुङ लगाएतले टि. भी. एबम् अन्य उपहारहरु प्राप्त गरेका थिए ।
उपयुक्त मौसमको सदुपयोग गर्दै हरेक हप्ता चार -पाँच ओटा संस्थाहरूद्वारा आयोजित गरिने यस्ता खालका वनभोज तथा सांगीतिक कार्यक्रमहरुमा कामको अलावा हप्तामा एक दिन मिल्ने छुट्टीमा मनोरञ्जन गर्नका लागि नेपालीहरु उत्साहजनक उपस्थिति जनाउने गर्छन् ।
