काठमाडौँ । ताप्लेजुङ जिल्लाको फलैँचा आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ६ बजेर १३ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।
भूकम्पको धक्का ताप्लेजुङसहित आसपासका केही जिल्लामा पनि महसुस भएको जनाइएको छ । हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ ।
यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपाल हिमाली भेगमा अवस्थित देश भएकाले यहाँ समय–समयमा साना तथा मध्यम खालका भूकम्प जाने क्रम जारी रहेको विज्ञहरूले बताएका छन् ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै भूकम्पपछिका झट्का (आफ्टरशक) आउन सक्ने भएकाले सतर्कता अपनाउन सम्बन्धित निकायले सर्वसाधारणलाई आग्रह गरेका छन् ।
