काठमाडौं । मुन्धुमीस्थल मुक्कुमलुङमा केबलकारबिरुद्ध १० वर्षदेखि आन्दोलन गर्दै आएका याक्थुङ(लिम्बू) समुदायले फेरि आन्दोलनको घोषणा गरेका छन् । ललितपुर र ताप्लेजुङमा शुक्रबार एकसाथ पत्रकार सम्मेलन गरेर मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिलगायतद्वारा चरणबद्ध आन्दोलनको घोषणा गरिएको हो ।
मुक्कुमलुङ संरक्षणका लागि लगातार आन्दोलन भएको लामो समय बितिसकेको र उक्त आन्दोलनको क्रममा गम्भीर मानवअधिकार उलंघनका घटनाहरू भएका छन् । तर, राज्यले कुनै पनि किसिमको कारबाही र केबुलकार खारेज नगरेको कारण फेरि आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको जनाइएको छ । ‘राज्य तथा केबलकार पक्षले केवलकार निर्माणको लागि अझै पनि जवर्जस्ती गरिरहेको छ । यसर्थ, मुक्कुमलुङ क्षेत्रको संरक्षण, केबलकार खारेजी, पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेजी, सशस्त्र प्रहरी मुक्कुमलुङ क्षेत्रबाट फिर्ता, मुक्कुमलुङ संरक्षणकारीहरूलाई लगाइएका मुद्दा खारेजी, र राज्य तथा केबलकार पक्षबाट भएका गम्भीर प्रकारका मानवअधिकार उलङ्घन र हनन् गर्ने दोषीहरूमाथि कार्वाही गरिनुपर्ने सवालहरूमा ६ वर्षदेखि भइरहेको आन्दोलनलाई निरन्तरता दिँदै अझ सशक्त बनाउन आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको छ ।’ बिज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, संघर्षका कार्यक्रम अन्र्तगत पौष १८ गते पत्रकार सम्मेलनदेखि माघ १८ गतेसम्म संघर्षका कार्यक्रमहरू सार्बजनिक गरिएको छ । ‘२०८२ साल पौष १८ गते, पत्रकार सम्मलन, साल पौष २२ देखि सुरु ताप्लेजुङका विभिन्न स्थानसहित सबै जिल्लाका गाउँघरमा भेला तथा माघ १२ गते छलफल । ताप्लेजुङ, पान्थर, तेह्रथुम, इलाम, धनकुटा, संखुवासभा, सुनसरी, मोरङ र झापासहित मेची राजमार्ग र तमोर करिडोरका विभिन्न स्थानमा कोणसभा (फुइलिङ, गणेशचोक, फेदेन, राके, इलाम, फिकल भेडेटार, धरान, बेलबारी, दमक, विर्तामोड, मेयइलुङ, धनकुटा र खाँदबारी लगायतका स्थानहरुमा कोणसभा । माघ १४ गतेदेखि, मेची राजमार्ग र तमोर करिडोरमा विरोध प्रदर्शन तथा सचेतना, माघ १६ गते फुङ्लिङमा जनप्रदर्शन र कोणसभा, माघ १७ गते ताप्लेजुङ फुङ्लिङमा आन्दोलनमा घाइते भएकाहरूलाई सम्मान गर्ने कार्यक्रम, माघ १८ गते, हाक्पारे (कान्छीयान) देखिमाथि मुक्कुम्लुङ माधान स्थलसम्म धागो टांग्ने कार्यक्रम, माघ १९ गते, मुक्कुम्लुङ क्षेत्रमा विरोध प्रदर्शन र कोणसभालगायतका कार्यक्रम सार्बजनिक गरिएको छ ।’ बिज्ञप्तिमा भनिएको छ ।
माघ २० गतेदेखि माघ अन्त्यसम्म मुक्कुमलुङ संरक्षणको लागि केवलकार खारेजी, पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेजी, सशस्त्र प्रहरी मुक्कुमलुङ क्षेत्रबाट फिर्ता, मुक्कुमलुङ संरक्षणकारीहरूलाई लगाइएका मुद्दा खारेजी र राज्य तथा केवलकार पक्षबाट भएका गम्भीर प्रकारका मानवअधिकार उलङ्घन र हनन् गर्ने दोषीहरूमाथि कार्बाही गरिनु पर्ने सवालहरूलाई निर्वाचनको एजेण्डा बनाएर गाउँबस्तीमा लैजाने अभियान निरन्तर चलाउने बिज्ञप्तिमार्फत जनाइएको छ ।
बिज्ञप्ति हेर्नुहोस्ः


