कृष्ण कुँवर – अबुधाबी । संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी अबुधाबीमा रोजगारीको सिलसिलामा बसोबास गर्दै आएका नेपाली लिम्बू समुदायले नेपाली राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा यही डिसेम्बर २० शनिवारको दिन् चासोक तङ्नाम पर्व भव्यताका साथ मनाएका छन्।
अबुधाबीको हम्दान स्टेटमा दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म आयोजना गरिएको कार्यक्रममा नेपाली राजदूतावासका राजदूत तेजबहादुर क्षेत्रीको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत क्षेत्रीले विदेशमा रहेर पनि आफ्ना मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै ती मूल्यहरू आगामी पुस्तामा हस्तान्तरण गर्ने कार्य अत्यन्तै प्रशंसनीय रहेको बताए। उनले चासोक तङ्नामको अवसरमा सम्पूर्ण लिम्बू समुदायलाई हार्दिक शुभकामना व्यक्त गरे।
कार्यक्रममा सांस्कृतिक झाँकी, परम्परागत नृत्य तथा विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा करिब ३००जना नेपालिहरुको सहभागिता रहेको थियो भने, सो पर्वमा दुबई प्रान्तबाट पनि चासोक तङ्नाम मनाउन आएका पाहुनाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको आयोजना याक्थुङ सयङ सङ्जुम्भो युएईले गरेको थियो।
