बिर्तामोड । झापाको विर्तामोडस्थित नेपाल इभाञ्जलिकल बप्तिष्ट कन्भेन्सन (एनइबिसी) को आयोजनामा मंसिर १५ गते अर्जुनधारा ६ विहानी टोलमा एक दिवसीय पत्रकारिता अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
तालिममा पाष्टर, एल्डर, प्रचारक र सेवकहरुलाई सहभागि गराईएको एनइविसीका कार्यकारी सचिव रेभरेण्ड रनबहादुर सेवाले जानकारी दिए ।
झापा, मोरङ, इलाम, पाँचथर, ताप्लेजुङ लगायतका विभिन्न क्षेत्रबाट ३९ जना प्रशिक्षार्थी सहभागि रहेको र अन्य आयोजक समेत तालिममा ५० जना भन्दा बढि उपस्थित रहेको एनइविसीका एल्डर मन खुदाङले बताए ।
तालिममा नेपाल ख्रीष्टियन पत्रकार संघका केन्द्रीय अध्यक्ष, महाप्रतिवाद पत्रिकाका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार गिदोन लामिछाने (तारा) ले सहजीकरण गरेका थिए । उनले पत्रकारिता मार्फत प्रभुको सुसमाचार फैलाउन अगुवाहरुलाई सुसज्जित बनाएको बताए ।
प्रशिक्षक लामिछानेले भने, “हाम्रो मुख्य लक्ष्य प्रभुको सन्देशलाई सहि तरिकाले संसारमा प्रचार गर्नु हो । सहभागिहरुले आफ्नो भूमिका बुझेर सहभागि भएका छन् । समाचारमा सत्य र महत्वपूर्ण कुरा मात्र समावेश गर्नुपर्छ भन्ने कुरा सिकाइएको छ ।”
तालिममा सहभागि पथरी मोरङका प्रकाश राईले भने, “सुसमाचार पत्रकारितामा सत्य र उपयोगी समाचार छनौट गर्नु नै मुख्य आधार रहेछ । समाचार बनाउँदा सबै मुख्य जानकारी सुरुमा राख्ने अभ्यास गर्नुपर्ने रहेछ । तालिम त सर्बै अगुवाहरुका लागि अति उपयोगी लाग्यो ।”
अर्का सहभागि खुदुनाबारी झापाका गोपाल बहादुर बोहोराले भने, “डिजिटल माध्यमले प्रभुको सन्देश छिटो फैलाउने मद्दत गर्ने रहेछ, हामी पुरानो माध्यम–ट्रयाक्स झोलामा बोकेर घरघरमा गई बाढ्नेहरुले नयाँ तरिका सिक्यौं, अब आशा छ सबै मण्डलीले प्रविधिको प्रयोग गरेर सुसमाचारिय क्षेत्रमा व्यापक सुधार र प्रभावकारी हुनेछ ।”
त्यसैगरी तालिममा फिदिम पाँचथरबाट सहभागि राजकुमारी राईले भनिन्, “हामीले एनइविसी सन्देश पत्रिका र एनइविसी अनलाईन मिनिष्ट्री सञ्चालन गरिरहेका थियौं, अब यो तालिममाले प्रभुको सन्देशलाई नियमित र योजनाबद्ध ढंगले फैलाउन मद्दत गरेको छ । हामी एनइविसी परिवार तालिम पछि धेरै खुशी भएका छौं ।”
इलामबाट सहभागि भएकी अंगिता तामाङले भनिन्, “पत्रकारले सदैव इमान्दारिता र नैतिकताको पालन गर्नुपर्छ भन्ने कुरा प्रशिक्षकले सिकाउनु भयो र धेरै उदाहरण पनि दिनुभयो, जसले गर्दा हामीले इसाई क्षेत्रमा मात्र होइन देशकै पत्रकारिता बुझ्न पाएका छौं । आगमी दिनमा हामी एक असल पत्रकार बन्ने प्रेरणा मिलेको छ ।”
उक्त तालिममा ताप्लेजुङबाट सहभागि भएका विकास राईले भने, “समाचार लेखेर, बोलेर मात्र होइन अन्तर्वार्ता मार्फत् प्रभुको सन्देश प्रभावकारी रुपमा प्रसारित गर्न सकिने रहेछ, तालिम अत्यन्तै राम्रो लाग्यो । यो तालिम त जिल्ला जिल्लामा पनि आयोजना गरिनुपर्ने रहेछ ।”
तालिममा सहभागिहरुलाई प्रमाण पत्र वितरण गर्दै महाप्रतिवाद राष्ट्रिय साप्ताहिकका कार्यकारी सम्पादक अनिता रसाइलीले सबैलाई बधाई तथा शुभकामना व्यक्त गरिन् । उनले लामो समयदेखि यो अभियान रोकिएको भए पनि पुनः सुरु गर्न एनइविसीले उत्प्रेरित गरेकोमा धन्यवाद दिइन् ।
