Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जेनजीको आन्दोलनले बिर्सेको मूल मुद्दा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 19, 2025
3 shares
रमेश कुमार बोहोरा, काठमाडौं । हरेक क्रान्ति वा आन्दोलनले एउटा सपना बाँडेको हुन्छ, सुखद् भविष्यको कल्पना गरेको हुन्छ । आम जनतामा उत्साहको लहर ल्याएको हुन्छ । विश्वका हरेक मुलुकमा हुने राजनीतिक परिवर्तनको मूल ध्येय यही हो ।
नेपालको राजनीतिक इतिहासममा ४० को दशकयता थुप्रै परिवर्तन भयो । ती परिर्वनहरुमध्ये २०८२ भदौ २३-२४ को जेनजी क्रान्ति अभूतपूर्व रह्यो । असंगठित समूहको यो क्रान्तिले व्यवस्थाको साटो जनताको अवस्था परिवर्तनको माग राखेको थियो । वर्तमान राजनीतिक प्रणालीका केही आधारभूत पक्षहरुको सुधार चाहेको थियो र छ ।
२४ घण्टामै सत्ता ढल्ने गरी भएको जेनजी क्रान्ति वा आन्दोलन नेपालको राजनीतिक र सामाजिक इतिहासमा अद्वितीय र असामान्य घटना बन्न पुग्यो । आन्दोलनका पृष्ठभूमिहरु जेजस्तो थियो भनिए पनि अप्रमाणिक ती कथित विश्लेषणहरुको कुनै अर्थ छैन र देश अहिले नयाँ मोडमा उभिएको छ । यो मोडबाट तय हुने बाटोले सही गति लिएन भने देश अभूतपूर्व संकटमा फस्ने छ ।
युवा पुस्ताको असन्तुष्टि लामो समयदेखि प्रकट हुँदै आएको भए पनि सरकारले त्यसलाई सम्बोधन गर्न नसक्दा सामाजिक सञ्जाल प्रतिबन्ध आगो ओकल्ने आधार बन्यो । रोजगारी, सुशासन, आर्थिक सामाजिक न्याय जस्ता माग राखेर युवाहरु जसरी सडकमा उत्रिए यसलाई सुरक्षित अवतरण गराउनु ठूलो चुनौति कायम छ ।
जेनजी आन्दोलनले युवाको जागरण र असन्तुष्टिको विस्फोट त गरायो तर यसले बिर्सेको मूल मुद्दा त्यही रह्यो संरचनागत सुधार, आर्थिक अवसर र सामाजिक न्यायको वास्तविक कार्यान्वयन जेनजी आन्दोलनको सुरुवात सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धबाट भएको भनिन्छ । त्यो प्रतिबन्धले युवाहरूको दैनिकी मात्र होइन उनीहरूको आत्मसम्मानमा समेत चोट पुर्‍यायो ।
सामाजिक सञ्जाल उनीहरूका लागि केवल मनोरञ्जनको माध्यम थिएन त्यो त विचार र आवाज प्रकट गर्ने लोकतान्त्रिक उपकरण बनिसकेको थियो । जब सरकारले यो अधिकार खोस्ने प्रयास गर्‍यो तब युवाहरूको असन्तुष्टि विस्फोट भयो उनीहरूको दृष्टिमा त्यो प्रतिबन्ध केवल प्रविधि बन्द गर्ने कुरा थिएन त्यो त अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार थियो तर आन्दोलनले यो विषयलाई जति जोडले उठायो त्यसकै छायामा अन्य गहिरा र जटिल विषयहरू ओझेलमा परे ।
सडकमा युवाहरूले नारा लगाए “हाम्रो आवाज बन्द गर्न पाइँदैन” “भ्रष्टाचार बन्द गर” “नेपो बेबीहरूको अन्त्य गर” “समान अवसर दे” यी मागहरू उचित थिए तर आन्दोलन तत्कालका घटनामा मात्र केन्द्रित रह्यो यसले प्रणालीगत र दीर्घकालीन परिवर्तनको स्पष्ट खाका प्रस्तुत गर्न सकेन । युवाहरूले आफ्नो शक्ति प्रदर्शन त गरे तर त्यसलाई नीतिगत दिशामा रूपान्तरण गर्न सक्ने संरचना तयार भएन राजनीतिक नेतृत्वको अभाव, नीति–निर्माणप्रति अनभिज्ञता र दीर्घकालीन दृष्टिकोणको कमीले आन्दोलनको सम्भावना अस्थायी क्रोधमा सीमित रह्यो ।
युवापुस्ताको असन्तुष्टि केवल सामाजिक सञ्जालको प्रतिबन्धसँग सीमित थिएन । उनीहरूका लागि बेरोजगारी, शिक्षा र अवसरको असमानता, राजनीतिक दलहरूमा वंशवाद र पुरानो पुस्ताको एकाधिकार नै असली समस्या थिए विश्वविद्यालयहरूमा दलहरूको हस्तक्षेपले विद्यार्थी जीवन अपमानजनक बनेको थियो ।
सरकारी रोजगारी र ठेक्कापट्टामा असमान पहुँच देखिन्थ्यो उद्यमशील युवाहरूलाई राज्यले प्रोत्साहन दिनुको साटो अवरोध सिर्जना गरेको थियो यी सबै कुराको अन्त्यको माग आन्दोलनको सतहमा कतैकतै देखिए पनि, ती विषयहरूलाई आन्दोलनको केन्द्रीय एजेन्डा बन्न सकेन आन्दोलन भावनात्मक थियो तर दीर्घकालीन संरचनागत सोचमा कमजोर रह्यो ।
नेपालको जनसांख्यिक तथ्यांकले स्पष्ट देखाउँछ देशको कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा युवाहरू छन् । यही पुस्ता भविष्यको नेतृत्व, श्रमशक्ति र सृजनशीलता हो । तर राजनीतिक प्रणालीले युवाहरूलाई निर्णय प्रक्रियाबाट टाढा राखेको छ । दलहरूको आन्तरिक संरचना वृद्ध नेताहरूको नियन्त्रणमा सीमित छ ।
नयाँ नेतृत्वलाई मौका दिनु त परै जाओस् नयाँ सोचलाई पनि ठाउँ दिइँदैन जेनजी आन्दोलनले यही असमानताविरुद्ध आवाज उठायो तर त्यो आवाज नीतिगत मागमा परिणत हुन सकेन । “नेतृत्वमा युवा चाहियो” भन्ने नारा गुञ्जियो तर त्यसलाई संस्थागत रूपमा कार्यान्वयन गर्ने योजना तयार भएन संसदमा उमेरगत कोटा, स्थानीय तहमा युवा सहभागिता नीति वा दलभित्र अनिवार्य युवा कोटा जस्ता ठोस प्रस्ताव आउन सकेनन् ।
सामाजिक र आर्थिक दृष्टिले पनि आन्दोलनले केही गम्भीर पक्ष बिर्सियो नेपालको युवा बेरोजगारी दर लगातार बढ्दो छ । लाखौं युवाहरू रोजगारीका लागि विदेशिन बाध्य छन् । देशभित्र उत्पादनशील उद्योग र अवसरको कमीले पढेका युवाहरू निराश छन् ।
राज्यका योजना र नीतिमा युवाको भूमिका औपचारिक रूपमा उल्लेख भए पनि व्यवहारमा उनीहरूलाई ‘कार्यकर्ता’को रूपमा मात्र प्रयोग गरिन्छ । जेनजी आन्दोलनको मर्ममा आर्थिक अवसरको असमानता सबभन्दा ठूलो मुद्दा थियो तर आन्दोलनका नारामा त्यो स्पष्ट देखिएन ।
आन्दोलनमा सहभागी अधिकांश युवा शहरी वर्गका थिए । उनीहरूले सामाजिक सञ्जाललाई आफ्नो मुख्य हतियार बनाएका थिए । तर ग्रामीण क्षेत्रका युवाहरू, सीमान्तकृत समुदाय, महिला र श्रमिक वर्गका आवाज पर्याप्त रूपमा प्रतिनिधित्व भएनन् । यस वर्गीय र क्षेत्रीय विभाजनले आन्दोलनको समावेशिता कमजोर बनायो जसका कारण आन्दोलनले सम्पूर्ण युवा पुस्ताको प्रतिनिधित्व गर्न सकेन ।
हरेक ठूलो आन्दोलन सफल हुनका लागि देशका सबै तहका मानिसहरूलाई जोड्नुपर्छ । जेनजी आन्दोलनले युवा असन्तुष्टि उजागर त गर्‍यो तर त्यो असन्तुष्टि मुख्यतः शहरी मध्यवर्गीय र प्रविधिमा पहुँच भएका युवाहरूमा सीमित रह्यो । त्यसैले आन्दोलनले सामाजिक न्याय, ग्रामीण अवसर, सीमान्त युवाको आवाज र लैङ्गिक समानता जस्ता दीर्घकालीन विषयहरू बिर्सियो ।
राजनीतिक विश्लेषकहरूले जेनजी आन्दोलनलाई “भावनाको विस्फोट” भनेका छन् । उनीहरूको दृष्टिमा यो विद्रोहले पुरानो प्रणालीविरुद्ध नयाँ विचार ल्यायो तर त्यो विचारलाई संस्थागत संरचना बनाउने प्रयास भएन अव्यवस्थित नेतृत्व, अराजक नारा र धेरै ठाउँमा देखिएको हिंसात्मक व्यवहारले आन्दोलनको नैतिक शक्ति कमजोर बनायो अधिकार माग्दा जिम्मेवारी पनि साथमा हुनुपर्छ ।
स्वतन्त्र आन्दोलनको नैतिक र रणनीतिक नियन्त्रण जरुरी हुन्छ त्यो नहुँदा जेनजी आन्दोलनले आफ्ना विरोधीहरूलाई नै बलियो बनाइदियो । पुराना दलहरूले यसलाई अस्थायी भावनात्मक प्रतिक्रिया भनेर सहजै भन्न सके तर आन्दोलनको शक्ति नकार्न सकिँदैन यसले लामो समयपछि युवाहरूको राजनीतिक चेतना जगाएको छ विद्यालय र क्याम्पसका विद्यार्थीहरू अब बुझ्न थालेका छन् राजनीति नेताहरूको पेशा मात्र होइन आफ्नो अधिकारको माध्यम हो ।
सामाजिक सञ्जालका बहसहरू सडकमा प्रत्यक्ष रूपमा देखिन थालेका छन् । यसले पुराना राजनीतिक दलहरूलाई पनि सोच्न बाध्य बनाएको छ । उनीहरू अब युवाको ऊर्जा र असन्तुष्टिलाई बेवास्ता गर्न सक्दैनन् । तर जबसम्म यो ऊर्जा संरचनागत सुधारतिर उन्मुख हुँदैन तबसम्म यो केवल क्षणिक आन्दोलनको रूपमा सीमित रहन्छ ।
जेनजी आन्दोलनका मागहरू वैधानिक रूपमा सन्तोषजनक थिए अभिव्यक्ति स्वतन्त्रता, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र योग्यताको आधारित अवसर तर आन्दोलनले नदेखेको पक्ष के थियो भने यी विषयहरू अलग–अलग मुद्दा होइनन् यी सबै संरचनागत सुधारका अंग हुन् । अभिव्यक्ति स्वतन्त्रता त्यसै टिक्दैन यदि शिक्षा प्रणाली राजनीतिक नियन्त्रणमा छ भने ।
भ्रष्टाचार नियन्त्रण सम्भव हुँदैन यदि नियामक निकाय स्वतन्त्र छैनन् भने योग्यतामा आधारित अवसर सुनिश्चित हुँदैन यदि सार्वजनिक सेवा आयोग दलहरूको सिफारिसमा बाँडिन्छ भने त्यसैले आन्दोलनको चुनौती नारामा होइन नीतिगत ढाँचा निर्माणमा केन्द्रित हुनुपर्ने थियो ।
नेपालको राजनीतिक संस्कृतिले युवालाई लामो समयदेखि ‘सहयोगी शक्ति’को रूपमा हेरेको छ ‘निर्णायक शक्ति’को रूपमा होइन दलहरूले युवालाई भीड जुटाउने, नाराबाजी गर्ने र प्रचार गर्ने भूमिकामा मात्र सीमित राखेका छन् । यो मानसिकता नफेरिएसम्म कुनै आन्दोलनले स्थायी परिणाम ल्याउन सक्दैन । जेनजी आन्दोलनले यो सोचमा आघात त पुर्‍यायो तर संस्थागत परिवर्तन गर्न सकेन नयाँ दल बनाउने चर्चा चले तर नेतृत्वमा पुनः पुराना अनुहारहरू देखिए जसले आन्दोलनको मौलिकता कमजोर बनायो ।
अब यदि यो आन्दोलनले दीर्घकालीन प्रभाव पार्नुपर्छ भने नाराबाट नीति निर्माणतिर केन्द्रित हुनुपर्छ । युवाहरूले सडकमा मात्र होइन नीति बनाउने ठाउँमा पनि आफ्नो उपस्थिति सुनिश्चित गर्नुपर्छ । नागरिक समाज, निजी क्षेत्र र सरकारी संयन्त्रमा युवाको भूमिका विस्तार हुनुपर्छ । राज्यका निर्णय प्रक्रियामा युवाको अनिवार्य सहभागिता कानूनी रूपमा सुनिश्चित गरिनुपर्छ । रोजगारी सिर्जना, शिक्षा सुधार, उद्यम प्रोत्साहन र प्रशासनिक पारदर्शितामा युवाको आवाज निर्णायक हुनुपर्छ ।
जेनजी आन्दोलनले हामीलाई एउटा स्पष्ट सन्देश दिएको छ भावनाले परिवर्तनको सुरुवात गर्न सक्छ तर केवल संस्थागत संरचनाले त्यसलाई स्थायित्व दिन सक्छ । युवाहरूले बिर्सिएको मूल मुद्दा सामाजिक न्याय, अवसरको समानता र संरचनागत सुधार पुनः उठाउन सके भने मात्र यो आन्दोलनले देशको भविष्य बदल्न सक्छ । अन्यथा यो पनि नेपालका असंख्य आन्दोलनहरूजस्तै “असफल तर साहसी प्रयास”का रूपमा इतिहासमा सीमित हुनेछ ।
आज नेपाल एउटा ठूलो प्रश्नको सामना गरिरहेको छ के हाम्रो युवा पुस्ता केवल डिजिटल क्रान्तिको उपभोक्ता बन्ने हो वा सामाजिक रूपान्तरणको वाहक बन्ने हो रु उत्तर युवाहरूले आफैं दिनुपर्छ । त्यसका लागि उनीहरूले आफ्ना आन्दोलनहरूलाई गहिरो, दीर्घकालीन र समावेशी बनाउनु आवश्यक छ । सामाजिक सञ्जालमा ट्रेन्ड चलाउनु मात्र पर्याप्त छैन परिवर्तनको ट्रेन्ड नीतिमा, संसदमा, शिक्षामा, उद्योगमा र शासनमा देखिनु जरुरी छ ।
जेनजी आन्दोलनको नारा थियो “हामी परिवर्तन चाहन्छौं ।” तर वास्तविक परिवर्तन तब मात्र सम्भव हुन्छ जब हामी संरचनाको भित्री भागमा प्रवेश गर्छौं । नेपालका युवाहरू अब नयाँ संविधानका पाना होइन नयाँ संस्कृतिका निर्माता बन्नुपर्छ जसमा न त वंशको दबाब होस् न त पुरानो सोचको एकाधिकार त्यो नयाँ संस्कृतिको जग बसाल्नका लागि युवाहरूले बिर्सिएको मूल मुद्दा सम्झिनै पर्छ अवसर सबैका लागि समान होस् शक्ति उत्तरदायी होस् र नागरिक स्वतन्त्रता संस्थागत रूपमा सुनिश्चित होस् ।
यदि जेनजी आन्दोलनले आफ्नो दोस्रो चरणमा यही विषय पुनर्जीवित गर्न सक्यो भने यो आन्दोलन विरोधको प्रतीक होइन परिवर्तनको इतिहास बन्नेछ । तर यदि यो भावना फेसबुक र टेलिग्रामका स्टोरीमै सीमित रह्यो भने यसको ऊर्जा समयसँगै हराउनेछ । आन्दोलनलाई इतिहास होइन भविष्य बनाउने जिम्मा अब ती युवाहरूको काँधमा छ जसले पहिलोपटक सडकमा नारा लगाउँदा “हामी” भनेर बोलेका थिए त्यो “हामी” आज पनि नेपालको भविष्यको सबैभन्दा ठूलो आशा हो ।
(लेखक :- बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved