इलाम । हालैको भीषण वर्षा र पहिरोले इलाम जिल्लाका विभिन्न स्थानहरूमा ठुलो मानवीय क्षति पुर्याउँदै सयौं घाइते बनाएको छ। यस प्राकृतिक विपत्तिपछि जिल्लाका मुख्य सडक मार्गहरू पूर्ण रूपमा अवरुद्ध हुँदा यातायात ठप्प बनेको थियो।
यस्तै कठिन परिस्थितिमा वाईसिएल नेपाल इलाम र प्रदेश नं. १ वाईसिएल ले नेपाली सेनासँग सहकार्य गर्दै सडक पुनः सञ्चालनको कार्यलाई तीव्रता दिएका छन्।
मेचिराजमार्ग अन्तर्गत इलामको माइखोला–राजदुवाली सडक खण्ड बाढी र पहिरोले पूर्ण रूपमा बगाएपछि सर्वसाधारणको दैनिक आवतजावतमा ठूलो समस्या आएको थियो।
यी अवरुद्ध सडकहरू पुनः सञ्चालनका लागि वाईसिएल नेपालका करिब ३०० स्वयंसेवकहरू, **प्रदेश १ वाईसिएल अध्यक्ष बिक्रम लिम्बू (फिया)**को नेतृत्वमा नेपाली सेना र स्थानीय युवाहरूसँगै खटिएका छन्।
वाईसिएल कार्यकर्ताहरूले रातदिन श्रमदान गर्दै पहिरो पन्छाउने, अस्थायी मर्मत गर्ने र ठाउँ–ठाउँमा बास हाल्दै मानिस हिँड्न सक्ने बाटो पुनः सञ्चालनमा ल्याएका छन्। मौसमले साथ दिए आगामी २–३ दिनभित्रै सानो सवारीसाधनका लागि पनि बाटो सञ्चालनमा आउने सम्भावना रहेको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो।
अध्यक्ष लिम्बूका अनुसार, “यो संकटको घडीमा हामीले नेपाली सेना र स्थानीय समुदायसँग मिलेर सडक खुलाउने अभियानलाई देशव्यापी जनसहभागिताको रूपमा अघि बढाएका छौं। इलामका सबै अबरुद्ध सडकहरू खुलाउने हाम्रो प्राथमिकता हो।”
वाईसिएल नेपालले यसअघि पनि केन्द्रीय निर्देशनअनुसार देशभरका बाढी–पहिरो प्रभावित क्षेत्रहरूमा १० हजारभन्दा बढी स्वयंसेवक परिचालन गरी उद्धार र राहत कार्यमा संलग्न भएको थियो।
हाल वाईसिएल नेपालले इलामका साथै अन्य पहिरो प्रभावित जिल्लाहरूमा पनि सडक पुनःस्थापना, उद्धार, राहत र पुनर्निर्माणका अभियानहरू निरन्तर सञ्चालन गरिरहेको छ।
