गोरखा । गोरखा जिल्लाकी पहिलो महिला वडा अध्यक्षको हैसियतले शहीद लखन गाउँपालिका वडा नं. २ मा सकुन मगरले देखाएको कार्यशैली अहिले उदाहरणीय बन्न पुगेको छ। जहाँ ऐतिहासिक धार्मिक स्थल मनकामना मन्दिर पनि पर्दछ, त्यही वडामा उहाँ निर्वाचित भएदेखि नै विकास, निर्माण र सामाजिक सेवामा उल्लेखनीय उपलब्धि हुँदै आएको छ।
दैनिक रूपमा टोल–बस्ती र घरदैलोमा पुगेर जनताको दुःखसुख बुझ्ने, समस्या सुन्ने र समाधान गर्ने उहाँको शैलीले वडावासीलाई आफ्नै छोरी–बुहारी घरमा आएको अनुभूति हुने गरेको छ। स्थानीयहरू भन्छन्, “उहाँ वडामा मात्र होइन, हाम्रो परिवारकै हिस्सा झैँ हुनुहुन्छ।”
पहिलो कार्यालय एमाले बाट पुरूष निर्वाचित भएको वडा दोस्रो कार्यकालमा नेकपा माओवादी केन्द्र बाट महिला उम्मेदवार भारी मतान्तरले विजयी भएपछि वडा नं. २ को रुपरेखा नै फेरिएको छ। गाउँपालिकाबाट बजेट ल्याउने, योजना निर्माण गर्ने र विकासका कार्यलाई गतिशील बनाउन उहाँको अग्रणी भूमिका रहेको छ।
धार्मिक एवं सांस्कृतिक दृष्टिले महत्वपूर्ण मनकामना मन्दिर परिसर र मन्दिरमा हुने दैनिक पूजाआजा तथा अन्य कार्यक्रमहरूमा पनि अध्यक्ष मगर सक्रिय रहँदै आएका छन्। सामाजिक गतिविधिमा विवाद वा असामाजिक गतिविधि देखिएमा उहाँको मात्र नामले पनि सबै अनुशासनमा आउने गरेको जनाइएको छ।
हालै दशैँ को लागी भएको सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा वडा अध्यक्ष मगर स्वयं वडाका कर्मचारी टिम, NMB बैंकका प्रबन्धक तथा कर्मचारी, मनकामना इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मीहरू र जनप्रतिनिधिसहित घरदैलोमै पुगेर वृद्ध–वृद्धा, अपाङ्ग र असक्त नागरिकलाई भत्ता वितरण गर्नुभयो। हिँडडुल गर्न नसक्ने बृद्धबृद्धाको घरमै पुगेको यो ‘घर–दैलो कार्यक्रम’ले स्थानीय जनतामा गहिरो आत्मीयता जगाएको छ।
उहाँको निरन्तर खटाइ र सेवाभावले वडामा विकाससँगै सामाजिक सद्भाव र आपसी विश्वास बढेको छ। महिला वडा अध्यक्षको नेतृत्वमा वडाको अनुहार फेरिँदै गएको देखेर स्थानीय बासिन्दा गर्व महसुस गरिरहेका छन्।
