कृष्ण कुँवर, अबुधाबी – संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत नेपालीहरु लाई यूएईको कानून र नियमको पूर्ण पालना गर्न आग्रह गर्दै नेपाली दूतावास अबुधाबिले ११ बुँदे कडा निर्देशन जारी गरेको छ।
हालै विभिन्न कारणले कतिपय नेपाली समस्यामा परेको जानकारी दूतावासमा प्राप्त भएपछि आफ्ना नागरिकलाई अनुशासित रहन र सावधानी अपनाउन भनिएको हो।
२०२५ सेप्टेम्बर २३ को जारी सूचनामा दूतावासले गैरकानुनी काम, अवैध व्यवसाय र बसोबास, ट्राफिक नियम उल्लंघन, जुवा–तास, ठगी, गलत आर्थिक कारोबार, जाली कागज प्रयोग, झुटो प्रचार, चरित्र हत्या जस्ता साइबर अपराधमा नपर्न चेतावनी दिएको छ। साथै मदिरा- लागूपदार्थ सेवन, झगडा, सार्वजनिक स्थानमा हुलहुज्जत नगर्नुका साथै बैंकिङ कसुर जस्ता अबैध कार्यहरु नगर्न पनि निर्देशन दिएको छ।
दूतावासले सबै नेपालीलाई पासपोर्ट, इमिरेट्स आईडी लगायत आवश्यक कागजात सधैं साथमा राख्न र समयमै नवीकरण गर्न स्मरण पनि गराएको छ।
