✍️ श्रीराम रानाभाट , एकजना राजा जो सँग प्रशस्तै धन सम्पत्ति सुख सुविधा मान प्रतिष्ठा थियो । तैपनि राजा बुढो हुँदै गइरहेका थिए । किनकि धनसम्पत्ति र मान प्रतिष्ठाले बुढ्यौलीपन र वैराग्यतालाई पनि रोक्न सक्दो रहेनछ । सबै कुरा आफूले चाहे अनुसार चलाउन सक्ने शक्ति भएका राजासँग पनि मनको अशान्तिलाई जंगी कारबाही गर्ने हिम्मत हुन्न रहेछ ।
उनी राजपाठ आफ्नो उत्तराधिकारीलाई सुम्पेर आखिरी जीवन स्वतन्त्र र शान्तिमा जिउन चाहन्थे । दरबारमा राजगुरुहरू हुन्थे । एउटा गुरुले राजाको मनोभावना बुझेर सुझाव दर्साए कि सरकार !! अब सबै कुरा छोडेर बाँकी जीवन जंगलमा ध्यान तपस्या गरेर भगवान भक्तिमा लाग्नुहोस् बैकुण्ठको ढोका खुल्छ । पुरै जिन्दगी राज्यको ख्याल राख्नुभयो अब तपाईंका उत्तराधिकारले राख्नेछन् । तपाईं निसन्देह रहनुहोस् । राजालाई राजगुरुको कुरा मनासिब लाग्यो र जेठो छोरालाई उत्तराधिकारी सुम्पेर जंगल जाने निर्णय गरे । राजाका तीनओटी रानीहरू थिए । राजा चाहन्थे उनीहरू मध्ये कुनै एक आफूसँगै जंगल गैदिए सहारा पनि मिल्ने थियो ।
मूल्यहीन आँसु कति झारें जिन्दगीमा ,
कैयौँ रहर नचाहेरै मारें जिन्दगीमा ,
मनले सोच्छ कहिले आउँछन् तिम्रा खुसीहरु ,
मैले भोलि भोलि भन्दै टारें जिन्दगीमा ।।
कान्छी महारानी जोसँग उनको अघात प्रेम थियो । आशाको तलाउ लिएर कान्छी रानीको कोठामा पुगे र भन्न थाले रानी ! तिमीलाई थाहै छ, म असाध्यै प्रेम गर्छु तिमीसँग । म सबै राजमोह त्यागेर बाँकी जीवन तिमीसँग जङ्गलमा गएर बिताउन चाहन्छु के तिमी जानका लागि तयार छौ..? रानीले जवाफ दिइन् “यहिँ बसेर पनि त आफ्नो जिन्दगी बिताउन सक्नुहुन्छ जंगल किन..? तपाईं यही रहनुहुन्छ भने म तपाईंको साथमा हुन्छु मलाई जंगल जानु छैन । जानुहुन्छ भने तपाईं जानुहोस् म अर्कैसँग विवाह गर्छु “। तिर लाग्यो मुटुमा ,काटियो मन कटक्कै । त्यो चिज गुमाउनुको पीडा भयो जुन चिजलाई आफूभन्दा बढी माया गरिन्छ । आशाको तलाउ कुच्चिएर गाग्री भयो । दुनियाकै सबैभन्दा खतरनाक नदी भनेको भावना रहेछ । बग्छन् सबै ,तर तैरन केहीलाई मात्र आउँछ । निराशाकै कोठाबाट बाहिर निक्ले ।
अब आशा थियो दोस्री रानीको । राजालाई विश्वास थियो दोस्रो महारानी धेरै बुद्धिमान छिन् । कुनै पनि विषयमा उनी नै बुद्धिमानी पूर्वक निर्णय गर्थिन , सम्झाउँथिन् यो सही हो त्यो गलत हो । उनी रानीको कोठामा गएर भने मैले राज पाठ त्यागेर जंगल पनि जाने निर्णय गरें । मलाई थाहा छ तिमी मलाई खुबै माया गर्छेउ। अबका बाँकी दिन केवल तिमीसँग जंगलमा गैर सकुनका दिनहरु बिताउन चाहन्छु । दोस्री महारानीले भनिन् “जानत हजुरकै साथमा जान मन छ मलाई तर जान सक्दिन । हजुरका सबै निर्णयहरूमा साथ दिएँ, तर यहाँ दिन सकिन । म पनि हजुरलाई त्यती नै प्रेम गर्छु ,सायद तपाईंले भन्दा बढी । तर बरु तपाईंको अन्त्यष्ठी मा अन्तिम संस्कार राजकीय सम्मानस्वरूप गर्नेछु “।
राजालाई यति महसुस भयो कि जसलाई जति नै आवश्यक थियो त्यती नै साथमा रहे । सुरुवातमा मैले धेरैलाई साथमा लिएर हिँडेको थिएँ । साँझ घरमा आउँदा एक्लो पो आइपुगेछु । राजा त्यहाँबाट पनि उदास बनेर फर्किरहेका थिए अचानक एउटा आवाज आयो महाराज ! हिँड्नुस् कहाँ जाने हो म जान तयार छु । राजाले आँखा गाडेर हेरे । पल्लोपट्टि ढोकामा एक कमजोर स्त्री शृंगार पटार थिएन । अनुहारमा चमक थिएन । शरीरमा गहना थिएनन् । निमसरी देखिने एक स्त्री जो राजाकी पहिली श्रीमती जसलाई सबैभन्दा बढी माया गरेका थिए कुनै बेला । त्यसपछि अरु रानीहरु आउन थाले । ती पहिलो रानी जसलाई केयरिंग को अत्यधिक जरुरत थियो । तर राजाले बिल्कुल केयर गरेका थिएनन् । सायद राजालाई थाहा थियो पहिलो रानी,(जेठी रानी) ले नै साथ दिने छिन् बाँकीले अस्वीकार गर्नेछन् । तिनै पहिलो महारानीसँग सन्यासी बन्नका लागि जङ्गल जान निस्किए ।
निष्कर्ष:
यो कहानी ती राजाको होइन, यो कहानी तपाईँ, म, हामी सबैको हो । यो कहानी ती रानीहरूको हो जुन रानीहरूको बारेमा अब म कुरा गर्छु । “कान्छी रानी” मतलब हामीले कमाएको भौतिक विलासिता- मोबाइल,ल्यापटप, गाडी,महल जसको पछि लागेर पुरै जिन्दगी बितायौं । यदि तपाईलाई कहानी याद छ भने कान्छी महारानीले भनेकी छिन् “म अर्कै विवाह गर्छु, यानी कि जब हामी जान्छौं त्यो सब अर्काको हुनेवाला छ ।हाम्रो पछि पछि हामीसँगै जानेवाला छैन । हामी सबैलाई थाहा छ। तर पनि हामी यिनै कान्छी रानीको पछि लाग्छौँ,यिनीहरूलाई प्रेम गर्छौं ।
“माइली रानी”- जसले भनेकी थिइन् म साथमा जान त सक्दिन तर भोलि अन्तिम संस्कारमा कुनै कमी गराउने छैन । माइली रानी मतलब हाम्रो परिवार,नजिकका आफ्ना आफन्त,जोसँग अगाध प्रेम गर्छौ । अन्त्यमा मसान घाटसम्म जान्छन् । काजक्रिया भव्य बनाउँछन् । केही समय सोकाकुल ….तर दुनिया छोडेर हामीसँग कदापि जाने छैनन् । सम्भव नै छैन । त्यसैले भनिन् “अन्तिम संस्कार भव्य गराउँछु “।
“:पहिलो रानी ” जसको हामीले बिल्कुल प्रवाह गर्दैनौँ । हाम्रो आत्मा, केही हदसम्म शरीर । किनकि यो हामीलाई मुफ़तमा मिलेको छ । जुन चिज फ्री मा मिल्छ त्यसको हामी कदर गर्न जान्दैनौं। हाम्रो जनचिज “म” सँगै सुरु भयो तर कदर गरेनौँ । सधैं दुनियालाई सुनिरहेउँ । दुनियाँको पछि लागिरहेउँ ,भागिरहेउँ । त्यो खुसीका लागि त्यो प्राप्तिका लागि त्यो प्रतिष्ठानका लागि तर enternal happiness (आन्तरिक खुसी ) को बारेमा कदापि सोचेनौँ, जान्न चाहेनौँ । सधैँ दोस्रो ,तेस्रो रानीको पछाडि भागिरहेउँ । पहिलो रानीलाई बेपरवाह गर्दै गयौँ ।
असमझदार त्यो होइन जसले बाहिरको कुनै भगवानलाई मान्दैन ,असमझदार त त्यो हो जसले आफूभित्रको भगवानलाई चिन्दैन “आत्मा”। सोच्नुहोस् त जिन्दगीमा जब कुनै निर्णय लिनुपर्ने हुन्छ त्यो निर्णयको घडीमा सही र गलतलाई छुट्याउन मनको आवाजलाई सुन्छौं । जिन्दगीका हरेक महत्वपूर्ण निर्णयमा हाम्रो आत्मा, हाम्रो मन, हाम्रो साथमा हुन्छ । बाँकी सबै पक्ष र विपक्ष हुन्छन् । वास्तविक प्रेरणा हामी भित्रैबाट आउँछ । जब भित्रैबाट आवाज आउँछ “तिमीले यो गरेर देखाउनुपर्छ” हामी गरेर देखाउँछौँ । हाम्रो शरीर ,हाम्रो मन ,हाम्रो आत्मा हाम्रो “पहिलो श्रीमती” हुन् । जसलाई सबभन्दा बढी लालनपालन ,पोषणको जरुरत हुन्छ । Only a healthy mind or soul can sustain a healthy body. स्वस्थ मनले मात्र स्वस्थ शरीरलाई थेग्न सक्छ । हाम्रो जिन्दगीका हरेक निर्णयहरूमा मद्दत पुर्याउने ,पाइलामा पाइला मिलाउने पहिलो रानी भनेको आफ्नै मन ,शरीर र आत्माको ख्याल राख्नुस् । त्यसपछि बाँकी आउने जाने त गरिनै रहन्छन् ।
