काठमाडौं। नेपाली हिन्दु नारीहरूका लागि विशेष महत्व बोकेको हरितालिका तीज पर्व भोलि (भदौ १० गते) देशभर श्रद्धा, उल्लास र उमंगका साथ मनाइँदैछ। शिव–पार्वतीको पवित्र मिलनको स्मरणस्वरूप मनाइने यो पर्वमा उपवास, पूजा, नृत्य, गीत र भेटघाटको खास महत्त्व रहेको छ।
तीज पर्व विशेषगरी नेपाली हिन्दु नारीहरूको भक्ति, समर्पण र ऐक्यबद्धताको प्रतीक मानिन्छ। यस दिन हिन्दु महिलाहरु बिहानै स्नान गरी रातो पहिरन, हरियो चुरा र पोतेसहित सिँगारिएर शिवालय, पाशुपत क्षेत्र, गुठीघर तथा स्थानीय मन्दिरहरूमा दर्शन गर्न पुग्छन्।
हरितालिका तीजको उत्पत्ति विष्णु पुराण र शिव पुराणसँग जोडिएको मानिन्छ। पौराणिक कथाअनुसार, पार्वतीले भगवान शिवलाई पतिको रूपमा प्राप्त गर्न कठोर व्रत बसिन्। उनको तपस्या र समर्पणबाट प्रभावित भएर भगवान शिवले पार्वतीलाई स्वीकारे। यसै घटनाको सम्झनामा तीज पर्व मनाउने परम्परा सुरु भएको हो।
तिजकाे अघिल्लो दिन दिदीबहिनी, आफन्त र छरछिमेक एकत्रित भई स्वादिष्ट परिकारहरू बनाउने र खाने गरिन्छ जसका कारण बिबाहित नारिहरुले आफ्नाे आमाबुबा सहित माईतिकाे साथमा रहेर दुख सुखकाे बात गर्दै मिठाे मसिनाे खाने चलन छ।
तिजकाे दिन बिहानै स्नान गरी निराहार उपवास बस्ने, शिव–पार्वतीको पूजा गर्ने र धार्मिक गीत–भजन गाउने परम्परा रहँदै आएको छ भने, तीज व्रत बस्ने महिलाहरूले सप्तऋषिको पूजा गरी आत्मशुद्धिको कामना गर्छन्।
अघिल्ला वर्षहरूमा तीजलाई सीमित परम्परागत व्रत र पूजामा सीमित राखिएको भए पनि अहिले तीज आधुनिकताको स्पर्शसँगै बदलिएको छ। दर खाने कार्यक्रमहरू, तीज गीत, सामूहिक नृत्य र महिला सशक्तीकरणका सन्देशले यो पर्वलाई अझै रंगीन बनाएको छ।
तीजको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। भक्तजनहरूको भीडलाई सहज बनाउन प्रवेश र निस्कने छुट्टाछुट्टै व्यवस्था गरिएको छ।
तीज पर्वले प्रेम, समर्पण, पारिवारिक बन्धन, धार्मिक आस्था र सामाजिक ऐक्यबद्धतालाई सुदृढ बनाउने सन्देश दिन्छ। यसले नेपाली नारीको साहस, श्रद्धा र संस्कृतिप्रतिको अभिमानलाई उजागर गर्छ।
