काठमाडौं । दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा लामो समयदेखि देखिएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै आयोजनाबाट प्रभावित तीन जिल्लाका विभिन्न तहका जनप्रतिनिधिहरुको टोलीले आज उर्जामन्त्री माननीय दीपक खड्कासँग भेट गरी गम्भीर छलफल गरेका छन्।
भेटका क्रममा प्रतिनिधिहरुले विशेषगरी आयोजनाको कारण रोक्का गरिएको जग्गाको मुआव्जा निर्धारण र वितरण प्रक्रिया अत्यन्तै ढिलो भएकोप्रति आपत्ति जनाएका थिए। उनीहरुले प्रभावित समुदायमा बढ्दो असन्तोषप्रति पनि मन्त्रीको ध्यानाकर्षण गराएका थिए।
उर्जामन्त्री खड्काले प्रतिनिधिहरुको चासोलाई गम्भीरतापूर्वक लिँदै सकारात्मक प्रतिबद्धता जनाएका छन्। साथै, आयोजनासम्बन्धी समस्याहरू समाधान गर्न थप उच्चस्तरीय छलफल आवश्यक रहेको भन्दै छिट्टै प्रधानमन्त्रीसँग भेटवार्ता गराउने सहमति भएको जनाइएको छ।
दुधकोशी आयोजना नेपालको महत्वाकांक्षी जलविद्युत परियोजनामध्ये एक हो, तर लामो समयदेखि आवश्यक प्रक्रिया अगाडि नबढ्दा प्रभावित क्षेत्रका जनतामा निराशा बढ्दै गएको छ।
