अविरल वर्षाका कारण गएरातिदेखि गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध बनेका छन् । जिल्लाको कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक आइतबार रातिदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका हुन् ।
उक्त क्षेत्रमा अहिले पनि लगातार रूपमा वर्षा भइरहेका कारण वर्षा नरोकिएसम्म अवरुद्ध सडक सुचारु गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक पटक–पटक बन्द हुँदा त्यस क्षेत्रका नागरिकले समस्या भोग्दै आइरहेका छन् । लगातारको वर्षाको कारण बडिगाड खोलामा पनि पानीको सतह बढ्दै गएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित ठाउँमा बसोबास गर्न आग्रह गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीले जिल्लाका करिब दुई सय भन्दाबढी स्थानलाई बाढीपहिरोको उच्च जोखिममा राखेको छ ।
