काठमाडौं । हिजाे काठमाडौंको बसुन्धरामा आयोजित एक विशेष कार्यक्रममा प्रगतिशील बन्धु समाज नेपालले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट नतिजा ल्याउने ४५ जना विद्यार्थीहरूलाई सम्मान गरेको छ।
कार्यक्रममा एकजना विद्यार्थीलाई छात्रवृत्तिमा अध्ययन गराउने सम्झौता समेत गरिएको छ भने, यो पहल समाजको शिक्षा र अवसरप्रतिको प्रतिबद्धताको सशक्त उदाहरणको रूपमा हेरिएको छ।
प्रगतिशील बन्धु समाज नेपाल सार्की समुदायका सदस्यहरूलाई संगठित गर्दै स्थापना गरिएको संस्था हो। यो संस्थाले देशभर छरिएर रहेका सार्की समुदायलाई एक सूत्रमा बाँध्ने उद्देश्यसहित विविध सामाजिक कार्य गर्दै आएको छ। हरेक वर्ष SEE पास गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै आएको यस संस्थाले हौसला र प्रेरणा दिनु कार्यक्रमको मूल उद्देश्य रहेको जनाएको छ।
कार्यक्रममा विद्यार्थीहरूको मेहनत, अनुशासन, र भविष्यप्रतिको लगावको कदर गर्दै सम्मानपत्र तथा उपहार प्रदान गरिएको थियो।
उक्त अवसरमा समाजका पदाधिकारीहरू, अभिभावक, शिक्षक, शिक्षाविद्, विभिन्न क्षेत्रका अगुवा, साथै नेपाल सरकारका सहसचिव, उपसचिव तथा अन्य अधिकृतहरूको समेत उपस्थिति रहेको थियो।
वक्ताहरूले विद्यार्थीहरूलाई निरन्तर लगनशील रहन, उच्च शिक्षाको तयारीमा जुट्न, र समाजप्रतिको उत्तरदायित्व आत्मसात् गर्दै अगाडि बढ्न प्रेरणा दिएका थिए। समाजका अध्यक्ष भीम बस्यालले भने, “हामी यो संस्था देशैभर लैजाने योजना छ, जसबाट सबै सार्की समुदाय एकै माला जस्तो जोडिनेछन्।”
त्यस्तै, सचिव अर्जुन मग्रातीले थपे, “हामी अन्य सामाजिक कार्यमा पनि जुट्नेछौं, र हाम्रो समुदायका बालबालिकाहरूलाई आर्थिक कारणले पढ्नबाट बञ्चित हुन नपरोस् भन्ने हाम्रो प्रतिबद्धता हो। हाम्रो भाईचारा र एकता झन् सशक्त बनाउनेतर्फ अग्रसर छौं।”
प्रगतिशील बन्धु समाज नेपालले आगामी दिनमा पनि यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षाको माध्यमबाट समुदायको सशक्तीकरण गर्ने अठोट व्यक्त गर्नु भयो।
