दिनेश राज खरेल/ डिकेन्द्र बस्नेत, काठमाडौं । नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन र जी फोर्स सेक्युरिटी सर्भिसमा कार्यरत कर्मचारीहरूबीच एक अन्तरक्रियात्मक भेला शनिबार काठमाडौंको बागबजारमा सम्पन्न भएको छ। नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक ट्रेड युनियन र जी फोर्स सेक्युरिटीको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा श्रमिक अधिकारका विषयमा महत्वपूर्ण छलफलहरू भएका थिए।
भेलालाई सम्बोधन गर्दै नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनका अध्यक्ष प्रेम बहादुर कार्कीले श्रमिकको हक र हित सुनिश्चित गर्न अन्तर्राष्ट्रिय मानव अधिकार आयोगसम्म अपिल गर्न तयार रहेको घोषणा गरे। उनले सार्वजनिक खरिद ऐनको नाममा ठेकेदारी प्रथामार्फत श्रमिकको मानव अधिकारमा हस्तक्षेप भइरहेको भन्दै त्यसविरुद्ध कडा आवाज उठाउनुपर्नेमा जोड दिए।
संस्थाका उपाध्यक्ष उद्वव प्रसाद दाहालले श्रमिकका पक्षमा अदालतले दिएको सकारात्मक फैसलाका उदाहरणहरू प्रस्तुत गर्दै ढिलो भए पनि न्याय पाउन थालेको बताए। उनले संगठनको निरन्तर पहलबाट कैयौं श्रमिकले न्याय पाएको र त्यस क्रममा कतिपय ठेकेदारहरू भाग्नेसम्मका अवस्था देखिएको उल्लेख गरे।
महासचिव वेद प्रसाद हुमागाईंले आफू विश्वविद्यालयको २० लाख बराबरको सुविधा त्यागेर श्रमिक पक्षमा समर्पित भएको र त्यसमा कुनै पछुतो नरहेको बताए। उनले आफ्नो सक्रियताबाट श्रमिकको रोजगारी र जीविकोपार्जनमा ग्यारेन्टी बढ्दै गएको अनुभव सुनाए। साथै,संगठनमा थप श्रमिकको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै सबैलाई सहभागिताका लागि अपिल गरे।
कार्यक्रममा नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठनका केन्द्रीय महासचिव पूर्ण बहादुर थापा, काठमाडौं अध्यक्ष ललित बहादुर खतिवडा लगायत विभिन्न मजदुर नेताहरूको पनि उपस्थिति थियो। सो अवसरमा २० जना भन्दा बढी सुरक्षाकर्मीहरूलाई संगठनको सदस्यता कार्ड प्रदान गरिएको थियो।
भेलामा करिब ८० जना सुरक्षाकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन मजदुर नेता भोला बस्नेतले गरेका थिए भने सभापतित्व जी फोर्स सेक्युरिटी सर्भिस प्रतिष्ठानका अध्यक्ष शेर बहादुर बस्नेतले गरेका थिए।
