काठमाडौं । हुलाक सेवा विभाग, बबरमहल काठमाडौंमा एक विशेष समारोहका बीच नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङज्यूको प्रमुख आतिथ्यमा ऐतिहासिक महत्व बोकेको भिमसेन मन्दिर अङ्कित हुलाक टिकट सार्वजनिक गरिएको छ।
उक्त कार्यक्रममा मन्त्रालयका सचिवज्यू, हुलाक सेवा विभागका महानिर्देशक (डिजी), अन्य मन्त्रालयका सहसचिवज्यूहरू तथा विभिन्न स्थानीय तहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नं. ६ ताकुकोटस्थित पाल्खुमा रहेको १८०० वर्ष पुरानो भिमसेन मन्दिर भित्रको ऐतिहासिक घण्टीबारे पुरातत्व विभागले अनुसन्धान गर्दा महत्वपूर्ण प्रमाणहरू फेला परेको छ। यसैको आधारमा बारपाक सुलिकोट गाउँपालिकाको पहलमा नेपाल सरकारले भिमसेन मन्दिर अङ्कित हुलाक टिकट जारी गरेको हो।
यस ऐतिहासिक कार्यबाट बारपाक सुलिकोट गाउँपालिकाको सांस्कृतिक र ऐतिहासिक पहिचान नेपालभर र अन्तर्राष्ट्रियस्तरमा उजागर हुने अपेक्षा गरीएको छ।
