काठमाडौं। संयुक्त नागरिक पार्टीको आयोजनामा साउन ११ गते काठमाडौंको माइतीघर मण्डलामा समलिङ्गी विवाह, लिङ्ग परिवर्तन तथा गर्भपतनजस्ता विषयलाई ‘सामाजिक विकृति’ ठहर गर्दै विरोध प्रदर्शन तथा खबरदारी कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक संस्था, नागरिक समाज, पत्रकार, धार्मिक समुदायका सदस्य तथा सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। कार्यक्रममा सहभागीहरूले “सरोकारवाला खबरदार”, “लिङ्ग परिवर्तन गराउन पाइँदैन”, “जीवन रोजौँ” लगायतका नारा लगाएका थिए ।
संयुक्त नागरिक पार्टीका महासचिव प्रेमबहादुर कार्कीले विषयको पृष्ठभूमि प्रस्तुत गर्दै खबरदारीको आवश्यकता औंल्याए । उपमहासचिव तथा मुद्दा पहिचान तथा आन्दोलन परिचालन विभाग प्रमुख विदुर अधिकारीले कार्यक्रम सञ्चालन गर्दै जनाएअनुसार “यो आन्दोलन जन्मसिद्ध रूपमा तेस्रोलिङ्गी व्यक्तिहरूविरुद्ध होइन, तर कृत्रिमरूपमा बारम्बार लिङ्ग परिवर्तन गर्ने, लैंगिक पहिचानको नाममा अभिलेखीय संस्थालाई अन्योलमा पार्ने प्रवृत्तिविरुद्ध हो ।”
कार्यक्रममा पार्टी अध्यक्ष दलमर्दन कामीले समापन सम्बोधन दिँदै विवाहलाई ‘पवित्र संस्था’ भन्दै समलिङ्गी विवाहप्रति गम्भीर असहमति जनाए । उनले “गर्भपतन कानुनी प्रक्रिया होइन, जीवनविरोधी क्रिया हो” भन्दै सबैभन्दा कमजोर अवस्थामा रहेका गर्भस्थ शिशुहरूका पक्षमा आवाज उठाउनुपर्ने बताए ।
यसअघि पनि पार्टीले २०८१ सालको भदौ २० र कात्तिक १४ गते महिला हिंसा, जातीय विभेद र धार्मिक समुदायमाथिको दमनजस्ता विषयमा खबरदारी कार्यक्रम गर्दै आएको थियो ।
संयुक्त नागरिक पार्टीले आगामी दिनमा पनि सामाजिक र नैतिक विषयमा जनचेतना र खबरदारी अभियान जारी राख्ने जनाएको छ।
