खाेटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ स्थित विजयखर्क (माला) निवासी सर्वकुमार भट्टराई खत्रीकी श्रीमती जानुका खत्रीले आज बिहान ६:३० बजे जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत शिशुलाई जन्म दिइन्। तर, जन्मिएलगत्तै शिशुमा गम्भीर मुटुको समस्या देखिएपछि तुरुन्तै काठमाडौंस्थित कान्ति बाल अस्पताल लग्न डाक्टरले सल्लाह दिँदै रिफर गर्याे।
जिल्ला अस्पताल खोटाङका डा. .रूपेश संग्रौलाका अनुसार, नेपाली सेनाको हेलिकप्टरमार्फत अत्यन्तै जटिल अवस्थाको शिशुलाई काठमाडौं पुर्याइएको थियो। तर वडा सदस्य युवाबहादुर कार्कीका अनुसार, अस्पताल पुर्याएलगत्तै शिशुको दुःखद निधन भयो।
यो घटनाले फेरि एकपटक खोटाङजस्ता दुर्गम जिल्लामा स्वास्थ्य सेवाको पहुँचमाथि गम्भीर प्रश्न उठाएको छ। केही दिन अघि मात्र जिल्ला स्थित जिल्ला अस्पताललाई १५ शैयाबाट ५० शैयामा स्तरोन्नति गरेकाे थियाे तर, शैया पथ भएपनि दक्ष जनशक्तिकाे आवस्यकतापूर्ति नर्ग नसक्दा शैया स्तरोन्नति औचित्यविहिन भएकाे छ।
उक्त ५० शैयामा स्तरोन्नत जिल्ला अस्पतालका बाबजुद पनि अत्यावश्यक उपचार सेवाको अभावले गर्दा सामान्य अवस्थामै हेलिकप्टर चार्टर गर्नु पर्ने बाध्यता खाेटाङका बिरामिहरुले अझै झेल्नु परेकै छ।
यो पछिल्लाे घटनाले खाेटाङकाे स्वास्थ्य प्रणालीको गम्भीर खाल्डो उजागर गर्दै, खोटाङलगायतका ग्रामीण जिल्लामा स्वास्थ्य पहुँच सुनिश्चित गर्न तत्काल ठोस रणनीति र कार्यान्वयनको खाँचो देखिएको छ। यसतर्फ राज्यकाे ध्यान कहिले पुग्छ भन्ने प्रस्न स्वास्थ्य मन्त्रालय तर्फ तेर्सिएकाे छ।
