काठमाडौँ । काठमाडौंको बबरमहलस्थित ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’ बाट १८ वर्ष मुनिका किशोरीहरूको डिम्बको अवैध कारोबार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गोप्य सूचना र उजुरीका आधारमा अनुसन्धान गर्दा यस क्लिनिकमा गैरकानुनी गतिविधि भइरहेको फेला पारेको हो । सीआईबीका अनुसार, होप फर्टिलिटीले निस्सन्तान दम्पतीलाई बच्चा जन्माउन सहयोग गर्ने बहानामा १८ वर्षभन्दा कम उमेरका किशोरीहरूलाई प्रयोग गर्दै आएको थियो ।
निस्सन्तान दम्पतीलाई आइभीएफ लगायतका विभिन्न प्रविधिको सहयोगमा बच्चा जन्माउन सहयोग गर्ने संस्थाबाट नै १८ वर्ष मुनीका किशोरीको डिम्बको कारोबार भइरहेको फेला परेपछि पाँच जनालाई नियन्त्रणमा लिएको सीआईबी स्रोतले जानकारी दियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट किशोरीहरूलाई विभिन्न प्रलोभनमा पारी क्लिनिकमा बोलाउने र उनीहरूको डिम्ब निकालेर १० हजार रुपैयाँ दिने गरेको पाइएको छ । एक सीआईबी अधिकारीले भने, ‘१८ वर्षमुनिका किशोरीको डिम्ब निकाल्ने र उनीहरूलाई केही रकम दिएर पठाउने गरेको कुरा देखिएको छ। किशोरीहरूलाई फकाएर यस्तो कारोबार गरेको पाएपछि थप अनुसन्धानका लागि पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।’
पक्राउ परेका पाँच जनाको नाम प्रहरीले तत्काल सार्वजनिक गरेको छैन । सीआईबीले यस विषयमा थप अनुसन्धान भइरहेको र छिट्टै नै नामसहित विस्तृत विवरण सार्वजनिक गरिने जनाएको छ । यो घटनाले मानव शरीरका अंगहरूको अवैध कारोबार र यसमा संलग्न स्वास्थ्य संस्थाहरूमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
ती प्रहरीका अनुसार होपले १८ वर्षभन्दा कम उमेरका किशोरीलाई विभिन्न प्रलोभनमा पारेर क्लिनिकमा बोलाउने र डिम्ब निकाले राख्ने गरेको थियो। क्लिनिकमा आएका किशोरीहरुलाई होपले १० हजार रुपैयाँ दिएको पनि देखिएको उनले जानकारी दिए ।
