सर्लाही । सर्लाही जिल्लाको पर्सा गाउँपालिका–५ मा मानवीय मर्यादाविरुद्धको गम्भीर घटना सार्वजनिक भएको छ। स्थानीय सलिम अन्सारी र तस्लिम अन्सारीलाई केही व्यक्तिहरूले सुंगुरको खोरमा राखी अमानवीय रूपमा कुटपिट गरेको विवरण बाहिर आएपछि गाउँमा त्रास, आक्रोश र अन्यायविरुद्धको आवाज तीव्र बन्दै गएको छ।
घटनापछि पीडित परिवारका सदस्यहरूसहित स्थानीय समाजसेवी, अगुवा र बुद्धिजीवीहरू न्यायको खोजीमा नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीको मलंगवास्थित निजी निवासमा पुगेका छन्। पीडित पक्षले घटनाको सम्पूर्ण विवरण राख्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।
पूर्व गृहराज्यमन्त्री अन्सारीले घटनाप्रति गहिरो दुःख र रोष व्यक्त गर्दै भन्नुभयो, “मानवताको अपमान कुनै हालतमा सहन सकिँदैन। पीडितलाई न्याय दिलाउने प्रक्रिया तत्काल सुरु गरिन्छ र दोषी कानुनी कठघरामा आउँछन्।”
उहाँले समाजमा शान्ति, सद्भाव र सम्मान कायम गर्न सबै समुदायबीच संवाद र ऐक्यबद्धता आवश्यक रहेको पनि औँल्याउनुभयो।
उक्त भेटघाटमा विभिन्न समुदायका अगुवा, पीडित परिवारका सदस्य, स्थानीय बासिन्दा र दलका कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो।
नेपाल संघीय समाजवादी पार्टीले घटनाको पूर्ण छानबिन गर्दै दोषीलाई कानुनी दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
न्यायका लागि उठेको आवाज अब चुप लाग्नेवाला छैन। पीडितको पक्षमा समाज उभिन थालेको छ।
