काठमाडौं । चैत १५ गते राजावादीको आन्दोलनमा काेटेस्वरकाे तिनकुने स्थित एउटा घरभित्र जीउँदै जलाएर हत्या गरिएका एभिन्यूजकर्मी सुरेश रजकको हत्याको बिरोधमा नेवाःपत्रकार राष्ट्रिय दबु ललिपुर शाखाले दीप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरेको छ ।
कार्यक्रममा एभिन्यूज खबर टेलिभिजनमा कार्यकारी अध्यक्ष भाष्करराज राजकर्णिकारले रजकलाई निरपेक्ष शहीद घोषणा गर्न,घटनाको निष्पक्ष छानबिन गर्न उच्च स्तरीय समिति गठन र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई तीन दिनको समय दिएर मागपत्र दिइएको बताए ।
अध्यक्ष राजकर्णिकारले संस्थाका तर्फबाट रजकको नाममा १० लाख १ रुपैयाको अक्षय कोषको स्थापना, सुरेश रजक चुनौतीपूर्ण पत्रकारिता सम्मान लगायतको व्यवस्था गर्न लागिएको समेत बताए ।
श्रद्धाञ्जली कार्यक्रममा सुरेश रजकका आफन्त राजेश रजकले पीडाका समयमा पनि विभिन्न संचार माध्यममा परिवारसँग यथार्थ नबुझी समाचार सम्प्रेषण गरिएको भन्दै बुझेर मात्रै समाचार लेख्न आग्रह गरे ।
कार्यक्रमा सहभागी अन्य पत्रकार तथा व्यक्तित्वहरुले कार्यक्षेत्रमा रहेका सुरेश रजकको हत्यामा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याउनु पर्ने भन्दै उनलाई अमर शहीद घोषणा गर्नुपर्ने माग गरेका थिए ।
