शुक्रबार भएको राजावादीनिकटको आन्दोलनले हिंसाको रुप लिएको पत्रकार महासंघले ठहर गरेको छ । व्यवसायी दुर्गा प्रसाईकाे नेतृत्वमा भउकाे आन्दोलनमा सहभागी समूहले शुक्रबार तीनकुनेमा गरेको आगजनीमा परी रिपोर्टिङमा खटिएका एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियाे।
त्यस्तै विभिन्न संचार गृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुंगा हान्ने, सवारी साधन तोडफोड गर्ने र संचारकर्मीलाई आतंकित तुल्याउने काम भएको भन्दै सञ्चारकर्मीहरुले उक्त घटनामा संलग्नमाथि कानुनी कारबाहीको समेत माग गरेका छन् ।
माइतीघरमा भएको प्रदर्शन र कोणसभामा नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालले उक्त घटनाका दोषिमाथि कडा भन्दा कडा कारबाही हुनुपर्ने माग राख्दै सञ्चारकर्मीहरुलाई सुरक्षित वातावरणमा काम गर्ने अधिकार हनन् भएको बताए । ‘हिजोको घटनामा पत्रकार हत्या भएको हो, विभिन्न सञ्चार माध्यममा ढुंगामुडा गर्ने काम भएको छ, प्रदर्शनकारीको आक्रमणका कारण अनलाईन खबरका पत्रकार दिनेश गौत्तमको खुट्टा भाँचिएको छ, यसमा वास्तविकता छानबीन गरी कारबाही हुनुपर्छ,’ उनले भने ।
प्रदर्शनमा सहभागी महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले हिजोकाे घटनामा पत्रकारलाई जलाइएको बताउँदै यो घटना क्षम्य हुने किसिमको नरहेको बताए ।
‘नेपालमा फेरी पत्रकारहरुले लेखेकै कारण र सूचना सम्प्रेषण गरेकै कारण ज्यान गुमाउनुपर्ने अवस्था आयो, हिजोको घटनामा सञ्चारकर्मीको मृत्यु होइन, हत्या हो, नेपालको सञ्चार इतिहासमा कालो दिनको रुपमा यो घटना थपिएको छ, यो क्रुर घटना हो,’ उनले भने । पत्रकार महासंघको स्थापना दिवसको अवसरमा महासंघले अन्य कार्यक्रम तय गरेपछि शनिबारको घटनालाई मध्यनजर गर्दै विरोध सभा आयोजना गरेको हो ।
