काठमाडौं । मधेस प्रदेशको सिराहा जिल्ला औरही गाउँपालिका वडा नं ५ , पूर्वपश्चिम हुलाकी राजमार्ग छेउमा महायज्ञ लगाउने बहानामा विगत २५ वर्षदेखि बसाेवास गर्दै आएका दिपक मरिक (डाेमकाे) घर भत्काईएकाे घटनाकाे आमूल परिवर्तन नागरिक पार्टी केन्द्रीय समितिले गम्भीर ध्यानाकर्षण भएकाे जनाउँदै दाेषीलाई कडा कारबाहीकाे माग गरेकाे छ ।
अध्यक्ष दलमर्दन कामीद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ” मधेस प्रदेशको सिराहा जिल्ला औरही गाउँपालिका वडा नं ५ , पूर्वपश्चिम हुलाकी राजमार्ग छेउमा महायज्ञ लगाउने बहानामा विगत २५ वर्षदेखि बसाेवास गर्दै आएका दिपक मरिक (डाेमकाे) घर भत्काईएकाे घटनाकाे आमूल परिवर्तन नागरिक पार्टी केन्द्रीय समितिकाे गम्भीर ध्यानाकर्षण भएकाे छ । घरमात्र भत्काईएन साे स्थानमा अछूत बसेकाेले माटाे पनि अपवित्र हुने भन्दै डाेजर लगाएर २ फिट माटाे समेत फालिएकाे बुझिएकाे छ । यसप्रकारकाे अत्यन्तै घृणित र नीच कार्यकाे हामी घाेर निन्दा र भर्त्सना गर्दछाैं ।”
धार्मिक गतिविधि गर्ने नाममा उक्त परिवारलाई विस्थापित गर्नु मानव अधिकारकाे गम्भीर अपराध हाे । महात्यागी बजरंगी बाबाकाे निर्देशनमा गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवकाे मिलेमताेमा जातीय विभेद गर्दै मरिककाे घर भत्काउने कार्य खेदजनक छ ।
निजहरुले अक्षम्य अपराध गरेका हुनाले तत्काल पक्राउ गरि कडाभन्दा कडा कारबाही गर्न, विस्थापित परिवारलाई पुनर्स्थापन गर्न, पीडित परिवारलाई सामाजिक सुरक्षा प्रदान गर्न , विभेदकारी, हिन्दु अतिवादीहरुद्वारा आयोजना गरिएकाे महायज्ञ तत्काल स्थगन गर्न / गराउन नेपाल सरकारसंग जाेडदार माग गर्दछाैं ।
कुनैपनि वहानामा दाेषीलाई उन्मुक्ति दिइएमा र भविष्यमा यस्ता कु-कार्यहरु दाेहाेरिएमा त्यसका विरुद्ध संधै खडा हुने र जस्ताेसुकै मूल्य चुकाउन वाध्य हुने पनि विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
