भरतपुर । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा बसोवास गर्ने २५३ भूमिहीन दलित र भूमिहीन सुकुमबासी परिवारले आज आइतबार जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) पाउँदै छन् । भरतपुर–११ का ११६, भरतपुर–२६ का नौ, भरतपुर–१५ का चार र रत्ननगर–१२, सालघारीका १२३ जनाले लालपुर्जा पाउने भएका हुन् ।
नापी कार्यालय भरतपुरका प्रमुख नापी अधिकृत एवं भूमि समस्या समाधान आयोग चितवनका सदस्यसचिव सुवास भण्डारीले यसअघिको आयोगले तयार गरेका लालपुर्जा वितरण गर्न लागिएको जानकारी दिए । ‘अघिल्लो आयोगको समितिले लालपुर्जा तयार गरेर बाँड्न लाग्दा आयोग नै खारेज भएको थियो । तयार भएर बसेका सोही लालपुर्जा अहिले बाँड्न लागिएको हो’, उनले भने ।
भरतपुर–११ को सिद्धार्थ टोल, कैलाश टोल, जखडीमाई टोल र नवज्योति टोलका ११६ सुकुमबासी परिवारलाई लालपुर्जा वितरण गर्न लागिएको वडाध्यक्ष कमलबहादुर मल्लले बताए । ‘खासमा १२८ सुकुमबासीलाई लालपुर्जा वितरण गर्न खोजिएको थियो । तर, लालपुर्जा लिन श्रीमान्श्रीमती दुवैले सहीछाप गर्नुपर्ने भएकाले अहिले ११६ सुकुमबासीलाई मात्रै वितरण गर्न लागिएको हो । १२ जनाको श्रीमान्श्रीमती सँगै नभएकाले पछि सँगै भएपछि वितरण गर्ने योजना छ’, उनले भने ।
लालपुर्जा लिन आउँदा यसअघि प्राप्त गरेको सेतो पुर्जा लिएर आउनुपर्ने उनले बताए । भरतपुर–११ मा सात हजारभन्दा बढी सुकुमबासी तथा अव्यवस्थित बसोवासी रहेको बताइएको छ । पछिल्लो समय आयोगमा नयाँ नेतृत्व आएपछि सुकुमबासीलाई लालपुर्जा वितरण गर्ने कार्यले तीव्रता पाएको उनले बताए ।
लालपुर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, भूमि समस्या समाधान आयोग चितवनका अध्यक्ष इमानसिंह लामालगायत सहभागी हुनेछन् ।
भरतपुर–११ का पूर्ववडाध्यक्ष बाबुराम अधिकारीले बाटोवारिका सुकुमबासीले लालपुर्जा पाउँदै गर्दा बाटोपारिका सुकुमबासीले लालपुर्जा नपाउने अवस्था रहेको बताए । बरण्डाभार करिडोरका कारण यस्तो समस्या आएको भन्दै उनले आयोगले यसलाई हल गर्नुपर्ने बताए ।
