कैलाली। टीकापुरमा प्रार्थना सभा आयोजना गर्ने मध्येका सात जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अनुग्रह चर्च नेपालका संयोजक करण वि.क. लगायत रहेका छन्।
इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय कैलालीमा बुझाउने तयारी भइरहेको जानकारी दिएको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले पक्राउ परेकाहरूलाई ठगी मुद्दा अन्तर्गत कारबाही गरिने बताए। ‘आयोजक मध्येका सात जना पक्राउ परेका छन्’ उनले भने–‘ठगी अन्तर्गत मुद्दा दायर गर्ने र सोही अनुसार कारबाही हुन्छ।’
यही फागुन २१ र २२ गते टीकापुरमा आयोजित प्रार्थना सभामा आयोजकले उपचारका नाममा पैसा असुलेर ठगी गरेको आरोप लागेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुले सभामा उपचारका लागि आएका बिरामीहरूबाट ठूलो रकम सङ्कलन गरेको बताइएको छ।
ती मध्ये २३ जनाको पैसा भने प्रहरीले फागुन २२ गते नै फिर्ता गर्न लगाएको थियो। इलाका प्रहरी कार्यालय टीकापुर डिएसपी नवीन राजा बुढाथोकीले पीडितको ५ लाख ९८ हजार रुपैयाँ फिर्ता गरिएको जानकारी दिए। ती बाहेकका व्यक्तिहरूको पैसा भने आयोजकले फिर्ता गरेको छैन।
सभामा भारतीय नागरिक बजिन्द्र सिंहले वर्षौँदेखि अपाङ्गता भएका व्यक्तिहरूको उपचारका नाममा प्रार्थनाकाे नाममा ठगि गर्दै आएकाे बुझिएकाे छ। प्रार्थना सभामा उपस्थित भएका मध्यबाट आफू निकटकै ब्यक्तिहरुलाई निको भएको बहाना गराईने गरेकाे बुझिएकाे छ। उक्त बजिन्द्र सिंहकाे लगानिमा गत मंसिरमा पनि चितवनकाे साैराहामा यसरिनै चङ्गाइ सभा गरेकाे तर अन्तमा खर्च भएकाे रकम समेत नतिरि उठेकाे भेटि रकम लिएर बजिन्द्रकाे टिम बिहान ३ बजेनै भागेकाे तत्कालिन कार्यक्रमका आयाेजक मध्य एक ब्यक्तिले गुनासाे गरेका थिए। यसरी चङ्गाईकाे बहानामा लेहेण्ड प्रेकाे बाहानामा प्रत्यक बिरामिबाट भारु २५०००/- सम्म लिने तर प्रार्थनाद्वारा निकाे हुने बिरामिहरु अधिकांश बजिन्द्र निकटहरु हुने गरेकाे सहभागीहरूकाे गुनासाे छ।
उनीहरुले आफू निको भएको भन्दै सर्वसाधारणलाई भ्रममा पारेका थिए। यही भ्रममा परेर धेरै सर्वसाधारणले आयोजकलाई रकम बुझाएको बताइएको छ। पश्चिम तराईका दर्जन बढी जिल्लाका सयौं व्यक्तिहरू सभामा सहभागी भएका थिए।
उनीहरु कोही ह्विलचियरमा थिए भने कसैलाई आफन्तले पिठ्युँमा बोकेर सभामा पुर्याएका थिए। टीकापुर नगरपालिका-५ स्थित खेल मैदान मानिसहरूले भरिभराउ थियो। मानिसहरूको सहभागिता देख्दा ठुलै मेला महोत्सवको झल्को देखिन्थ्यो।
