by Dikendra
झापा । झापाको कमल गाउँपालिका–२ स्थित कमल नगर अस्पतालले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। बिहीबार आयोजित शिविरको उद्घाटन अध्यक्ष कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गर्नुभएको हो ।
उद्घाटन गर्दै अध्यक्ष राईले स्थानीय सरकार कमलबासीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। साथै, अस्पतालको स्तरोन्नति गर्दै थप सेवा विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
२०७९ सालको फागुन १ गतेदेखि सञ्चालनमा आएको पाँच शय्याको यो अस्पतालले स्थानीय बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। शिविरकै अवसरमा संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त स्वास्थ्य उपकरणहरू गाउँपालिका अध्यक्ष राईले अस्पतालका मेसु डा. फुलकचन्द्र लावोतीलाई हस्तान्तरण गर्नुभएको थियो।
०८१ जेठ १७ गतेदेखि अस्पतालले नयाँ भवनबाट ल्याब सेवा सञ्चालन गरिरहेको छ, जसका कारण परीक्षण गराउने बिरामीको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ।
२०८१ असोज १६ गतेदेखि प्रत्येक महिनाको तेस्रो बुधबार मानसिक रोग विशेषज्ञ डा. नवराज कोइरालाको टोलीद्वारा नियमित मानसिक स्वास्थ्य सेवा पनि प्रदान गरिँदै आएको छ।
शिविरमा विराट मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरकी महिला रोग विशेषज्ञ डा. रीना साह, बाल रोग विशेषज्ञ डा. विजय साह, इन्टरनल मेडिसिन विशेषज्ञ डा. मुकेश साह तथा बिर्ता ज्योति आँखा अस्पताल, दमकका अशोक तिवारीसहितका विशेषज्ञहरूले सेवा प्रदान गरेका थिए।
शिविरमा आएका सफल मुर्मूले गाउँमै ल्याबसहितको स्वास्थ्य सेवा बीमा कार्यक्रमको लाभ लिन पाउँदा खुशी लागेको बताए। उनी महिला रोग विशेषज्ञसँग परामर्शका लागि अस्पताल पुगेका थिए।
अस्पतालमा आमा डेण्टल केयरले हप्ताको दुई दिन (आइतबार र बिहीबार) दन्त परीक्षण तथा एक्स-रे सेवा गर्दै आएको छ। आगामी चैत्र महिनाभित्र हप्ताको एक दिन निःशुल्क आँखा परीक्षण सेवा सुरु गर्ने तयारी।
कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले सुरक्षित मातृत्व सेवाको प्रवर्द्धन गर्दै सरकारी अस्पतालप्रति नागरिकको विश्वास बढाउन प्रयासरत रहेको बताउनुभयो।
अस्पतालका कार्यालय प्रमुख दिपक दाहालका अनुसार, वार्षिक ३०,००० भन्दा बढी सेवाग्राहीले यहाँबाट सेवा लिइरहेका छन्। साथै, अस्पतालमा प्रसूति सेवा सुरु भएपछि अहिले मासिक ७–८ जना गर्भवती महिला यहाँ सुत्केरी हुने गरेका छन्।
स्थानीय समुदायलाई लक्षित गरी सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट सयौं सर्वसाधारण लाभान्वित भएका छन्।


