हिमांशु राय,मोरङ बेलबारी । मोरङका खोज अनुशन्धानकर्ता तथा लेखक पत्रकार केशु विरहीले आफ्नो पछिल्लो प्रकाशित कृति ‘उपद्रष्टा हर्कमान तामाङ’ को जिवनी पुस्तक बिक्रीबाट प्राप्त भएको रकमले बेलबारीमा एउटा अनुसन्धान अक्षयकोषको निर्माण गर्ने भएका छन् । बेलबारी बहुमुखी क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा विरहीले उक्त जानकारी गराएका हुन् ।
केशु विरही पत्रकारिता पेशामा आवद्ध रहेता पनि अहिले उनि आफूलाई अनुसन्धानकर्ताको रुपमा परिचय दिन चाहान्छन्। विरहीले विद्यार्थीहरूमा खोज तथा अनुसन्धानप्रति अभिप्रेरणा जगाउने उद्देश्यले अक्षयकोषको अवधारणा अघि सारेको बताएकाछन् । उनले पत्रकार सम्मेलनमा भने, ‘म विगत केही सालदेखि नियमित रूपमा अनुसन्धानका काम गर्दै आएको छु । धेरै महत्त्वपूर्ण हुँदाहुँदै पनि निकै जटिल र कठिन हुने भएकाले यस विधाप्रति धेरैको आकर्षण देखिँदैन । तसर्थ अनुसन्धानका काममा विद्यार्थीलाई अभिप्रेरणा जगाउन सकिन्छ कि भनेर मैले व्यक्तिगत तवरबाटै भए पनि एउटा सानो प्रयासको थालनी गरेको छु ।’
बेलबारीका अग्रज स्रष्टा, शैक्षिक व्यक्तित्व, पूर्व सांसद हर्कमान तामाङको जीवनीमूलक कृति ‘उपद्रष्टा हर्कमान तामाङ’ नामक कृति प्रकाशित भएको, यही कृति बिक्री गरेर आएको पचास प्रतिशत रकमले बेलबारी बहुमुखी क्याम्पसमा एउटा अनुसन्धान अक्षयकोष खडा गर्ने र त्यसको ब्याजबाट प्राप्त हुने रकमले बेलबारी बहुमुखी क्याम्पसमा अध्ययन गर्ने कम्तीमा एक जना विद्यार्थीलाई वार्षिक रूपमा पुरस्कृत गरिने समेत बताए।
बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले यस्ता महत्त्वपूर्ण खोज अनुसन्धानको अपरिहार्यता लाई सबैले आत्मसात गर्दै यश प्रकारको कार्यलाई सबैले प्रोत्साहन गर्नु पर्ने उनले बताए। लेखकहरुलाई आ आफ्नो क्षेत्र बाट अगाडि बढाउन हौशलाको खाँचो भएकोले थप हौशला दिनुपर्ने बताउदै “उपद्रष्टा” पुस्तक आगामी फागुन ७ गते एक विशेष कार्यक्रमका साथ लोकार्पण गरिने भएकोले यश क्षेत्र आसपासका सम्पुर्ण लेखक,स्रष्टा,सर्जक,कलाकार,सांस्कृतिक कर्मी र साहित्यकारहरुले उक्त पुस्तक लोकार्पण कार्यक्रममा सहभागी भएर साथ र सहयोग समेत गर्नुपर्ने बताए ।
बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्रप्रसाद कोइरालाले यस कार्यले विद्यार्थीमा अनुसन्धानप्रति आकर्षण बढ्ने भएकोले यस्ता महत्त्वपूर्ण कार्यको शुरुवात गर्ने लेखक केशु विरहीलाई हृदय बाटै धन्यवाद ब्याक्त गरे।
नेपाली साहित्यका विभिन्न विधा कथा, उपन्यास, गजल, बालकथा, अनुसन्धान तथा समालोचनाका क्षेत्रमा ससक्त कलम चलाउँदै आएका विरहीका यस अघि नै ‘कहाली लाग्दा गोरेटाहरू’ (उपन्यास सह लेखन) २०५६, ‘आमाको माया’ (उपन्यास) २०५७, ‘सुस्केरा(सामूहिक सङ्कलन) २०६२, ‘दन्किएको आगो (गजलसङ्ग्रह) २०६३, ‘भास्कर वंशावली (वंशावली) २०६५, ‘सुलोचना (कथासङ्ग्रह) २०७१, ‘रेस्माको सेन्डल’ बालकथासङ्ग्रह (२०७७) र ‘बेलबारीको साहित्यिक इतिहास’ (२०७९), ‘तेह्रथुमको साहित्यिक इतिहास’ (२०८००) जस्ता कृतिहरू बजारमा ल्याइसकेका छन्। लेखक तथा साहित्यकार केशु विरहीका आगामी दिनहरु अझ प्रभावकारी र सबैलाई प्रेरणादायी बन्न सकोस।
