झापा । दमकको लाइफलाइन अस्पतालकी स्त्री रोग विशेषज्ञ डा. सीता राईले निसन्तान दम्पतीहरूका लागि ‘कोपिला फर्टिलाइजर एण्ड वमन क्लिनिक’ सञ्चालनमा ल्याएकी छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस क्षेत्रका निसन्तान समस्या भएका दम्पतीलाई प्रजनन सम्बन्धी स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले दमकमै पहिलो पटक यस्तो क्लिनिक सञ्चालनमा ल्याएको जानकारी दिइन्।
लाइफलाइन अस्पतालमा विगत सात वर्षदेखि स्त्री रोग विशेषज्ञका रूपमा कार्यरत डा. राईले महिनादिन अघिदेखि क्लिनिक सञ्चालनमा ल्याइसकेको बताइन्। क्लिनिकमा बिहान र साँझ ओपीडी सेवा उपलब्ध गराउँदै आएकी डा. राईका अनुसार करिब १० प्रतिशत मानिस निसन्तान समस्याबाट प्रभावित छन्।
क्लिनिक सञ्चालनबारे जानकारी दिँदै अर्का चिकित्सक डा. सन्तोष खत्रीले डा. राईले स्त्री रोगसँगै निसन्तान समस्यामा विशेषज्ञ सेवा प्रदान गर्न थालेको बताए। उनले स्वदेशमै सुलभ दरमा गुणस्तरीय उपचार सेवा दिनका लागि क्लिनिक खोलिएको उल्लेख गरे।
भारतका विभिन्न शहरसम्म उपचार गर्न जाने समस्या हटाउन तथा विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध गराउन क्लिनिक प्रतिबद्ध रहेको डा. राईले बताइन्। कोपिला फर्टिलाइजर एण्ड वमन क्लिनिकमा विशेषज्ञ सेवासहित ल्याब, भिडियो एक्सरे, फार्मेसी लगायतका सेवा उपलब्ध छन्।
