झापा । दमक–१, सुनौलो टोलस्थित आशिष प्रेस्विटेरियन मण्डलीले शुक्रबार बिहान सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। सरसफाईमार्फत समुदायमा सामाजिक सेवा र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।
यस कार्यक्रममा मण्डलीका प्रमुख पाष्टर आकाश थुलुङ राईको अध्यक्षतामा र सुनौलो टोल विकास समितिका अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो। कार्यक्रममा मण्डलीका सदस्य र स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सरसफाई अभियान अन्तर्गत टोलका विभिन्न सडक र क्षेत्रहरूको सफाई गरिनुका साथै समुदायलाई सरसफाईको महत्त्वबारे जानकारी प्रदान गरियो। कार्यक्रममा मण्डलीले फलामको स्ट्यान्डसहित पाँच थान डस्टबिन टोल विकास समितिलाई हस्तान्तरण गरेको थियो।
प्रमुख अतिथि राजकुमार राईले धार्मिक संस्थाहरूले समाजमा एकता, सद्भाव र जनचेतना अभिवृद्धिमा पुर्याएको योगदानको प्रशंसा गर्दै सरसफाईजस्तो अभियानमा समुदायका सबै सदस्यको सक्रिय भूमिका आवश्यक रहेको बताए।
कार्यक्रम संयोजक एल्डर सुरज लिम्बूले कार्यक्रम सञ्चालन गरेका थिए भने पाष्टर आकाश थुलुङ राईले सरसफाईको महत्त्व र यसबाट हुने फाइदाबारे प्रष्ट पारेका थिए। कार्यक्रममा सहभागिता जनाउने सबैलाई धन्यवाद व्यक्त गर्दै, मण्डलीले आगामी दिनमा यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
यस कार्यक्रमले सामाजिक उत्तरदायित्वप्रति मण्डलीको योगदानलाई थप प्रस्ट्याएको छ।
