चितवन। युवकलाई सडकमै लडाएर भकुर्ने प्रहरीकाे पहिचान भएकाे छ। चितवनको भरतपुर-११ बसेनी चोकमा प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घलानले एक युवकलाई लात्तीले कुटेको घटनाको भिडियो भाइरल भएपछि उनलाई निलम्बन गरिएको छ।
पुस १५ गते राति मोटरसाइकलमा ध्वनि प्रदूषण गर्दै आएका केही युवाहरूलाई नियन्त्रणमा लिने क्रममा घलानले युवकमाथि कुटपिट गरेको पुष्टि भएको हो। युवकहरूले मादक पदार्थ सेवन गरेको र मोटरसाइकल छुटाउन माथिल्लो तहलाई फोन गर्न थालेपछि प्रहरी र उनीहरूबीच विवाद भएको थियो।
चितवन प्रहरीले घटनामा कुटपिट गर्नु गलत भएको स्वीकार गर्दै अनुसन्धानका लागि ५ सदस्यीय समिति गठन गरेको छ। अध्ययनपछि दोषीमाथि कारबाही गरिने बताएको छ।
