By Dikendra
पाँचथर । कर्नरस्टोन फाउन्डेसन स्कुल, दमकले शुक्रबार पाँचथरको फाल्गुनन्द गाउँपालिका-६, मेलबोटेमा जाडोका ज्याकेट, स्वेटर, टोपीसहित शैक्षिक सामग्री वितरण गरेको छ।
कार्यक्रममा ४ देखि १४ वर्ष उमेरका विद्यार्थी र महिलालगायत करिब १०० जना लक्षित वर्गलाई सहयोग सामग्री प्रदान गरिएको हो। फाउन्डेसनले सामाजिक उत्तरदायित्व अन्तरगत विगतका वर्षदेखि नियमित रूपमा यस्ता कार्यहरू गर्दै आएको छ।
वितरण कार्यक्रममा वडा अध्यक्ष नारायण प्रसाद आङदम्बे, वडाका सचिव जय बहादुर तामाङ, जनप्रतिनिधि, स्थानीयवासी, र फाउन्डेसनकी कोर्डिनेटर सुस्मा केदम गजमेरको उपस्थिति रहेको थियो।
फाउन्डेसनका संस्थापक युवराज गजमेरका अनुसार, गत वर्ष पनि पाँचथरको याङवरक गाउँपालिका र जाजरकोटका भूकम्प प्रभावित क्षेत्रहरूमा सहयोग प्रदान गरिएको थियो। यसपटकको कार्यक्रमले जाडो मौसममा राहत प्रदान गर्दै शैक्षिक प्रोत्साहनको महत्त्वलाई उजागर गरेको छ।
सो कार्यक्रममा वडा अध्यक्ष आङदम्बेले फाउन्डेसनको कार्यलाई अत्यन्त सम्मानजनक बताउँदै यस्ता प्रयासहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । स्थानीय बासिन्दाले पनि फाउन्डेसनको प्रयासको प्रशंसा गर्दै यस्ता सहयोगात्मक कार्यलाई निरन्तरता दिन आग्रह गरेका छन्।
संस्थापक गजमेरले आगामी दिनमा थप क्षेत्रहरूमा सहयोग कार्यक्रम विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्। यस प्रकारका सामाजिक कार्यहरूले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको आयोजकको विश्वास छ।



