विराटनगर। धरान ११ स्थित चर्चले अभिभावक दिवसका दिन नाटक प्रहसन गर्ने क्रममा आफूहरूबाट गल्ती भएको भन्दै क्षमा याचना गरेको छ । नाटकले दिने सन्देश, प्रस्तुति, अभिनय सबै राम्रो हुँदाहुँदै पनि साना बालबालिकाहरूलाई कम्मरमाथि कपडा नलगाई अभिनय गराउनु आफूहरूको कमजोरी भएको सम्बन्धित चर्चले जनाएको हो । चर्चका आधिकारिक व्यक्ति (एल्डर) ले निस्तार पत्रिकालाई फोन गरी आफूहरूले यो घटनाले यति बृहत रूप लिन्छ भन्ने कहिल्यै नसोचेको र ससाना नानीहरूले आफ्ना अभिभावकहरूको उपस्थितिमा प्रदर्शन गरेको कलालाई सामाजिक सञ्जालमा अतिरञ्जित गर्ने काम भएको पनि बताउनुभयो ।
मंगलबार अपरान्ह चर्चको नेतृत्त्व, अभिनय गर्ने बालबालिका, उनीहरूका अभिभावकहरू र थप सरोकारवालाहरूसहित जिल्ला प्रशासन कार्यालय सुनसरी पुगी मंसिर २८ गते गरिएको कार्यक्रमको वास्तविकता जानकारी गराएको र सामाजिक सञ्जालमा अतिरञ्जित गरिएजस्तो कुनै उजुरी प्रशासन समक्ष प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीबाट जानकारी पाएको बताइएको छ ।
यसअघि सम्बन्धित चर्चले धरानभित्र रहेका मण्डलीहरू, सम्बन्धित बालबालिका र उनीहरूका अभिभावकसमक्ष क्षमा मागिसकेको जनाएको छ भने यो घट्नाका कारण सम्पूर्ण नेपाली मण्डलीहरूले नै अतिवादीहरूबाट प्रहार खेप्नुपरेकोले पछिल्लो समय सम्पूर्ण नेपाली मण्डलीहरूसँग पनि क्षमायाचना गरेको छ ।
मंसिर २८ गते गरिएको भनिएको अभिभावक दिवसका क्रममा प्रहसन गरिएको नाटकको सानो टुक्रा कल्पना खड्काको नामबाट टिकटकमा हालिएपछि सो टुक्रालाई लिएर ख्रीष्टियानहरूको चरम आलोचना भएको थियो । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले समेत ख्रीष्टियानहरूको बद्नाम गर्न भ्रामक सामग्रीहरू सामाजिक सञ्जालमा पोष्ट गरी सद्भाव भड्काउने काम गरेकोले उनी विरुद्ध साइबर ब्युरोमा उजुरी दिने तयारी गरिएको जानकारी प्राप्त भएको छ।
याे सामग्री निस्तार पत्रीकाबाट साभाग गरिएकाे हाे।
