काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित मुलपानीमा अर्जुन श्रेष्ठको घरमा प्रवेश गरेर एकजना युवकले श्रेष्ठ दम्पतीमाथि गोली प्रहार गरे । पुस १३ मा राति घरमा प्रवेश गरेर ३७ वर्षीय साहिर शंकरले अर्जुन श्रेष्ठ र उनकी पत्नी शान्तिदेवी श्रेष्ठमाथि गोली प्रहार गरेका हुन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर घएका ३७ वर्षीय शंकरले श्रेष्ठ दम्पतीलाई दुई राउन्ड गोली प्रहार गरे । श्रेष्ठ परिवार र छिमेकीले प्रतिकार गर्दा शंकर पनि घाइते भएका छन् । अर्जुनको कम्मर भन्दा तल्लो भागमा र शान्तिदेवीको गाला र घाँटीमा गोली लागेको छ । अहिले तीनैजनाको उपचार हुँदै छ ।
व्यक्तिगत दुस्मनीका कारण शंकरले श्रेष्ठ दम्पतीलाई गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । उनले भने, ‘व्यक्तिगत दुस्मनीका कारण गोली प्रहार गरेको देखिन्छ, आरोपीको पनि उपचार भइरहेको हुनाले बयान लिन पाएका छैनौँ ।’
दम्पतीमाथि गोली प्रहार गर्न शंकरले भारतको बिहारबाट ६० हजारमा पेस्तोल खरिद गरेको प्रहरीलाई बताएका छन् । उनले भनेका छन्, ‘बिहारबाट पेस्तोल किनेर ल्याएको हुँ ।’
