काठमाडौं । शीतलहर चलेसँगै जाडो बढेपछि बालिएको घुरको आगोले रौतहटमा आठ घर खरानी भएका छन् । राजदेवी नगरपालिका–५, पताई गाउँको पासवान टोलमा आइतबार मध्यराति आगलागी हुँदा आठ परिवारको वास त्रिपालमुनि भएको छ । मध्यपुसको कठ्यांग्रिने जाडोमा उनीहरू सडकछेउमा त्रिपाल टाँगेर बसेका छन् ।
लालबाबु हजराको खरले छाएको घरमा बालेको घुर (आगो) सल्किएर उनीसहित रामनाथ पासवान, रामसोगारथ पासवान, दीपेन्द्र पासवान, विजय पासवान, कान्तिदेवी पासवान, प्रदीप पासवान र सोनारी पासवानको घर पूर्ण रूपमा जलेर नष्ट भएको रौतहट प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताए । यस क्षेत्रमा आइतबारबाट शीतलहर चल्नुका साथै दिउँसो पनि घाम नलागेपछि घुर बालिएको थियो । सोही आगो आइतबार मध्यराति साढे एक बजे घरमा सल्किएको स्थानीय दीपेन्द्र पासवानले बताए ।
खरले छाएका घरमा एकाएक आगोको मुस्लो देखिएपछि स्थानीय, सुरक्षाकर्मीले दमकलको सहायतामा बिहान साढे तीन बजे आगलागी नियन्त्रणमा लिएका थिए ।प्रहरीले आगलागीबाट कम्तीमा १० लाखको क्षतिको आकलन गरेको छ ।
आगलागीपीडित रामनाथ पासवानले जाडोमा परिवारको बिचल्ली भएको बताए । ‘चामल, दाल, लुगा सबै आगलागीमा पर्यो, ज्यान जोगिएको छ,’ पासवानले भने, ‘यस्तो ठन्डामा त्रिपालमा बस्नुपरेको छ ।’
आगलागीपीडितलाई निर्माण व्यवसायी संघ रौतहटले राहत दिएको छ । त्रिपाल, चामल, भाँडाकुँडा, ग्यास चुल्होसहित सिलिन्डर, खानेतेल, आलु–प्याज, नुन–मसलासहितका खाद्यान्न सामग्री हस्तान्तरण गरिएको निर्माण व्यवसायी संघ रौतहटका अध्यक्ष कृष्णदेव यादवले बताए । पीडित रामसोगारथ पासवानले केही व्यक्ति आएर खानेकुरा र त्रिपाल दिए पनि सरकारीस्तरबाट राहत नआएको बताए ।
