by Dikendra
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दमक नगर समितिका नवनिर्वाचित अध्यक्ष नवीन योगीलाई दमक टेक्वान्दो डोजाङले बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ।
गत मंसिर ८ गते सम्पन्न प्याब्सन दमक नगर समितिको तेस्रो नगर अधिवेशनबाट योगी अध्यक्षमा निर्वाचित भएका थिए। उनको सम्मानमा मंगलबार दमक–५ हरिओम कोलनीस्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि दमक टेक्वान्दो डोजाङका अध्यक्ष जितबहादुर (जीतु) धिमालले योगीलाई नेपाली ढाका टोपीले सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। साथै, डोजाङका सल्लाहकार अनिलदेब राई, पत्रकार डिकेन्द्र बस्नेत र सुजन गौतमले खादा ओढाएर योगीलाई सम्मान व्यक्त गरेका थिए।
शैक्षिक र खेलकुद क्षेत्रमा लामो समयदेखि सक्रिय योगी दमक टेक्वान्दो डोजाङका उपाध्यक्ष समेत हुन्। उनी दमक–५ हरिओम कोलनीस्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल हुन्।
शैक्षिक तथा खेलप्रेमी योगीले आगामी कार्यकालमा शैक्षिक र खेलकुद क्षेत्रमा अझ प्रभावकारी योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

