By Dikendra
मोरङ । मोरङको उर्लाबारी ७ स्थित पवित्र बचत तथा ऋण सहकारी संस्थाले ख्रिष्टमस शुभकामना तथा सदस्य विस्तार कार्यक्रम सोमबार सम्पन्न गरेको छ।
पथरी १ स्थित सिन भिलेज होटलमा सम्पन्न गरेको कार्यक्रमको सभाध्यक्षता सहकारीका अध्यक्ष पास्टर रविन खड्काले गर्नुभएको थियो भने प्रमुख अतिथिमा पूर्वी मोरङ ईसाई समाजका अध्यक्ष पास्टर हस्त थलङ्ग लिम्बू रहनुभएको थियो।
यस्तै कार्यक्रमका विशेष अतिथिमा पूर्वी मोरङ ईसाई समाजका पूर्व अध्यक्ष पास्टर याम चन्द्र मादेन, पथरी शनिश्चरे नगर ईसाई समाजका सचिव पास्टर राज कुमार राई, वरिष्ठ पास्टर वर्णबास राई, र पत्रकार तथा पास्टर डिकेन्द्र बस्नेत लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष सहित अतिथिहरुले ब्यानरमा हस्ताक्षर र केक काटेर गर्नुभएको थियो। प्रारम्भिक प्रार्थना पास्टर याम चन्द्र मादेनले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव पास्टर गोपाल नाछिरिङ राईले गर्नुभएको सहकारीकी व्यवस्थापक बबिता भण्डारीले जानकारी दिनुभयो।
सहकारीका उपाध्यक्ष पास्टर प्रेम राईले स्वागत मन्तव्य राख्दै सदस्य विस्तारको महत्व र संस्थाको योगदानबारे प्रकाश पार्नुभयो।
सहकारीका अध्यक्ष पास्टर खडकाले संस्थाको विकास सबैको साथ र सहयोगबाट मात्रै सम्भव हुने बताउँदै बचत गर्ने बानीलाई जीवनशैलीमा अपनाउनुपर्नेमा जोड दिनुभयो।
सचिव राईले संस्थाको स्थापनाकालमा २६ जना सदस्यबाट सुरु भएको सहकारी १७ वर्षको अवधिमा १६५० सदस्यसम्म विस्तार भएको र पथरी सेवा केन्द्र स्थापना गर्न सफल भएको जानकारी दिनुभयो।
कार्यक्रमको क्रममा उपस्थित सदस्यहरूबीच आपसी परिचय आदान-प्रदान गरिएको थियो। यस अवसरमा संस्थाको आगामी योजनाबारे पनि छलफल गरिएको थियो।
