By Dikendra
झापा । नेपाल रेडक्रस सोसाइटी कमल गाउँ पालिका उपशाखाको १२औं साधारणसभा शुक्रबार कमल ५ मा रहेको संस्थाको आफ्नो सभा हलमा चन्द्र शाहको सभापतित्वमा सम्पन्न भएको छ। कार्यक्रममा रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल प्रमुख अतिथि तथा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने विशिष्ट अतिथिमा हुनुहुन्थ्यो।
यस्तै अतिथिहरूमा कमल गाउँपालिकाका प्रशासनिक अधिकृत केशव ढकाल, निवर्तमान अध्यक्ष मेनुका काफ्ले, र सरकारी विद्यालयहरूबाट प्रतिनिधिहरूको उपस्थिति थियो। शुभकामना मन्तव्यका क्रममा नेपाल पत्रकार महासंघ कोसी प्रदेशका कोषाध्यक्ष विमल लामिछाने, कमल पालिकाकी निवर्तमान अध्यक्ष मेनुका काफ्ले, र दिपेन वाला राईले मानवताको सेवामा रेडक्रसको भूमिका र महत्वमाथि चर्चा गरेका थिए ।
कार्यक्रममा संस्थागत सम्मानस्वरूप कमला मदन आश्रति मावि र स्मारिका सामुदायिक विद्यालयलाई सम्मान गरिएको थियो। रेडक्रसले शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै कसरी मानवीय उद्धार र सहयोगका पहल गर्न सकिन्छ भन्ने सन्देशलाई विशेष प्राथमिकता दिएको छ ।
रेडक्रसले शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै विद्यालय परिवारलाई मानवीय उद्धार र सहयोगको महत्व बुझाउन सफल भएकोमा धन्यवाद व्यक्त गरियो । कार्यक्रममा विपद् व्यवस्थापन, बाढी, आगलागी, र द्वन्द्वका क्रममा रेडक्रसले खेलेको प्रमुख अतिथि ढकालले बताए। संस्थाले सामाजिक सेवा र मानवीय मर्यादाको अभियानमा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गर्यो ।
कार्यक्रमले रेडक्रस र स्थानीय समाजबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने र भविष्यमा पनि विभिन्न आपत्कालीन अवस्थाहरूमा सहयोग पुर्याउने प्रतिबद्धता जनाएको उपसचिव यज्ञराज आङदम्बेले (विस्णु) बताए ।
उक्त साधारणसभाले सामाजिक सेवाका क्षेत्रमा रेडक्रसको नेतृत्व र योगदानलाई अझ सशक्त बनाउन महत्वपूर्ण निर्णयहरू गरेको जनाइएको छ। कार्यक्रमको सञ्चालन कमल रेडक्रस सोसाइटीका सचिव पारस मणि राईले गरेका थिए।

