By Dikendra
झापा । रोटरी क्लब अफ दमकले आफ्नो १४औं स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार गणतन्त्र चोकमा भएको रक्तदानमा ७ महिला र २२ पुरुषसहित २९ जनाले रक्तदान गरेका छन्।
क्लबका अध्यक्ष विक्रम शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले प्रमुख अतिथिको रूपमा सहभागीता जनाएका थिए । प्रमुख अतिथि थापा, रोटरी क्लबका पूर्व अध्यक्ष सन्दीप चापागाई(दिपु), रोट्याक्ट क्लब अफ दमकका अध्यक्ष सुमन पौडेल लगायतले रोटरीले समाजमा पुर्याउँदै आएको योगदानको चर्चा गरेका थिए।
रक्तदान कार्यक्रम रोटरी क्लब र रोट्याक्ट क्लब अफ दमकको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग भएको थियो।
कार्यक्रममा बोल्दै रोटरी क्लबका सचिव प्रेम देवकोटाले रोटरीले आफ्नो स्थापना दिवसको अवसरमा हरेक वर्ष सामाजिक कार्यहरू सञ्चालन गर्दै आएको र यस वर्षको रक्तदानले समुदायलाई प्रत्यक्ष लाभ पुर्याउने बताए।
