धरान । मंसिर १४ गते दिउँसो साढे १२ बजे धरान १७ डाँडाघोपामा आगलागी हुँदा घर जलेर पूर्ण रुपमा क्षति भएको छ ।
डाँडाघोपा ओशिस स्कूल पूर्वमा रहेको सुस्मा याक्खाको घरमा खाना पकाउने कोशी ग्याँसको सिलिण्डर पड्कीएर प्रारम्भिक अनुमान अनुसार २० लाख बराबरको क्षति भएको हो ।
घरमा एक्कासी सिलिण्डर पड्कीएर ठुलो आवाज आएको थियो । भुई ढलान गरेको काठको बार र टिनको छाना भएको उक्त घरमा रहेका नगद, गरगहना तथा खाद्यान्न समेत पूर्णरुपमा नष्ट भएका छन् ।
एउटा बच्चालाई स्कुल पठाएर अर्को बच्चालाई बाहिर खेलाईरहेको अवस्थामा घरभित्र सिलिण्डर पड्कीएपछि आगो लागेको हो । मानवीय क्षति नभए पनि सोही घरमा बस्दै आएकी प्रज्ञासा याक्खा भने बेहोस् भएकी छन् । घर तथा घरमा भएका सम्पूर्ण धनमाल पूर्णरुपमा क्षति भए पनि अन्य घरमा आगो फैलन अघि नै धरान उपमहानगरपालिकाबाट गएको दमकलले आगो नियन्त्रणमा लिएको छ ।
पीडितका लागि राहत तथा अन्य सहयोगका लागि स्थानीयले प्रयास गरिरहेको धरान १७ डाँडाघोपाका समाजसेवी लिलाबहादुर बुढाथोकीले जानकारी दिए । समाजसेवी बुढाथोकीले भने, “घटनास्थलमा एकदमै कारुणीक दृश्य छ । धन्न मानवीय क्षति भएनछ, तर उनीहरुलाई खान बस्नको लागि हामी स्थानीयले तत्कालै सहयोग गर्नेछौं । रेडक्रस, वडा कार्यालय र नगरपालिकामा समेत खबर गरेका छौं । सम्बन्धित निकायबाट अनुगमनमा आएर तत्काल राहत जुटाउने अवस्था छ, हामी प्रयास गर्दैछौं ।”
