कोभिड–१९ का कारण २०७६ चैतमा लकडाउन नभएको भए प्रणवजंग पाण्डे यतिबेला कि काठमाडौँमा बीबीए पढिरहेका हुन्थे कि विदेश पुगिसकेका हुन्थे । तर लकडाउनले उनलाई ‘कान्छा व्यापारी’का रुपमा चिनाइदियो ।
पहिलो खेपको लकडाउन उनको जीवनमा साँच्चै ‘टर्निङ प्वाइन्ट’ बनेर आयो । १७ वर्षे प्रणव कक्षा १२ मा ग्लोबल कलेज अफ म्यानेजमेन्टमा पढ्दै थिए । कोरोना महामारीका कारण वार्षिक परीक्षा स्थगित भयो । जाँच ढिलो हुने भएपछि उनी फुर्सदिला भए । घरको चौघेरामा कति दिन थुनिएर बस्ने ?
उनका हजुरबुबा प्रदीपजंग पाण्डेको दिमागमा के सुझ्यो भने लकडाउन नातिका निम्ति काम सिक्ने समय हुन सक्छ । अन्ततः उनले प्रणवलाई आफ्नो औषधी कम्पनी लोमस फर्मास्युटिकल्समा पठाए ।
कोरोना महामारीले कतिपय पुराना व्यवसायलाई थला पारिदियो भने कतिपग नयाँ ‘बिजनेस आइडिया’ जन्माइदियो । त्यसमध्ये चम्किए मास्क, स्यानिटाइजर, ज्वरो नाप्ने यन्त्रका साथै पीपीईको व्यापार । बजारमा गुणस्तरीय स्यानिटाइजरको माग बढेपछि लोमस फर्मास्युटिकल्स ह्यान्डवास र स्यानिटाइजर उत्पादनतिर लम्कियो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले निर्धारण गरेको मापदण्डका आधारमा चीनको नम्बर एक कम्पनीबाट डिस्पेन्सर झिकाएर लोमस फर्मास्युटिकल्सले घर र कार्यालय सुरक्षाका लागि अटोमेटिक डिस्पेन्सर बजारमा ल्यायो, ‘ह्यान्ड एक्स’ ।
तीन दशकदेखि औषधी उत्पादनमा लागेको लोमसले कोरोना भाइरस संक्रमण हुन नदिन प्रयोग गरिने स्यानिटाइजर उत्पादन स्वदेशमै थाल्नुको एउटा कारण थियो, यिनै किशोर प्रणवजंगको ऊर्जा । बजारमा चरम अभाव र उपभोक्ताको बढ्दो मागका बीचमा कम्पनीले १ सय एमएल र ५०० एमएलको बोतलमा स्यानिटाइजर सबैजसो औषधी पसल तथा डिपार्टमेन्टल स्टोरमा पुर्यायो ।
यसरी नामी औषधी कम्पनी लोमस फर्मास्युटिकल्समा काम सिक्न गएका १९ वर्षे प्रणवजंग पाण्डे अहिले ह्यान्ड एक्स डिपार्टमेन्टकै निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् । ‘जुनसुकै संकट अवसरका रुपमा पनि आउँदो रहेछ । कोभिड कसैका लागि कहर मात्रै होला तर मेरा लागि अवसर ठहरियो,’ प्रणवजंग निकै हौसिएका छन्, ‘मिडियाले मलाई कहिले कान्छा व्यापारी त कहिले स्यानिटाइजर किङ भन्न थालेका छन् ।’
ह्यान्ड एक्स डिपार्टमेन्ट सम्हालेपछि उनले ‘मार्जिन’ राखेनन् । सुपथ मूल्यमा हाताहाती बेचे । ‘व्यापारीले पहिले उधारोमा धेरै सामान मगाउँछन् अनि डेट एक्स्पाएर भएपछि सामान फिर्ता पठाउँछन्,’ उनी भन्छन्, ‘मैले उधारो दिइनँ । बोनस पनि दिइनँ । बरु अप्ठ्यारो समयमा सस्तो तर गुणस्तरीय सामान दिएँ ।’
औषधी कम्पनीमा लेबर नआउँदा उनी आफै खटिए । डेलिभरी ब्याय नहुँदा त्यो भूमिका पनि आफैले पनि गरे । त्यसकारण बजारमा स्यानिटाइजरको अभाव हुनै पाएन । ‘अर्डर’ लिएको एक हप्ताभित्रै सामान ‘डेलिभरी’ गरिदिए ।
यतिमात्र होइन, ब्रान्डिङका लागि अनलाइन विज्ञापन गरे । फेसबुकमा बुस्ट गरे । नयाँ उत्पादनको प्रचारप्रसारका लागि जर्मन, जापानी दूतावाससम्म आफै धाए । भाटभटेनी सुपर मार्केटमा आफैले पुर्याए । नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी, ट्राफिक प्रहरी, पशुपति क्षेत्र विकास कोष, टेबल टेनिस खेलाडीलाई स्वास्थ्य–सुरक्षाका लागि ह्यान्डवास, स्यानिटाइजर र भिटामिन–सी निःशुल्क वितरण गरे ।
यी किशोर व्यापारीले उपभोक्तामा आधारित उत्पादन ह्यान्ड एक्स स्यानिटाइजरलाई एक वान क्वालिटी दिए । चिलाउने, घाउ हुने, घाममा राख्दा कलर जाने आदि समस्या ढिम्किनै दिएनन् । उनको बुझाइमा नेपाल र भारतको बजार विश्वका अरु देशको भन्दा फरक छ । बजारशास्त्रमा पीएचडी गर्नेलाई समेत नेपाली बजार बुझ्न गाह्रो छ । नेपालको बजारमा सहजै भिज्न सकेकोमा उनी आफूलाई धन्य सम्झन्छन् ।
पाण्डे घरानाका तेस्रो पुस्ताका व्यापारी हुन्, प्रणवजंग । बाजेदखि नाति पुस्ता व्यवसायमै सक्रिय छ । लोमस ग्रुपमा प्रणवका पिता प्रबलजंग पाण्डेले सिमेन्टका साथै प्रोडक्सनको पाटो हेर्छन् । काका प्रज्वलजंगले औषधी उद्योग हेरेका छन् भने अर्का काका प्रतापजंग पाण्डेको जिम्मामा बैंक तथा वित्त र पर्यटन क्षेत्र छन् ।
नेपाल एकीकरणका एक महानायक कालु पाण्डेका वंशज प्रणवजंग पाण्डे २०५८ कात्तिक ४ गते काठमाडौँको बालुवाटारमा जन्मेका हुन् । काष्ठमण्डप स्कुलबाट एसएलसी गरेपछि उनले १२ कक्षासम्म ग्लोबल कलेज अफ म्यानेजमेन्टमा पढे । अहिले काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसुम) मा बीबीए दोस्रो समेस्टरमा पढ्दैछन् । व्यापारमा उनको आत्मविश्वास गजबकै छ ।
प्रणवका व्यवसाय गुरु या प्रेरणास्रोतचाहिँ हजुरबुबा प्रदीपराज पाण्डे नै हुन् । पढेका कुरा कसरी व्यवहारमा ल्याउने भन्ने शिक्षा उनले हजुरबाबाटै पाए । हजुरबुबाले उनलाई दिनको एउटा न एउटा नयाँ कुरा सिकाइरहेका हुन्छन् । हजुरबा उनलाई व्यापारसँगै सामाजिक उत्तरदायित्वबारे पनि स्मरण गराइरहन्छन् ।
त्यसैले सानै उमेरमै उनले सामाजिक कार्यमा चाख दिन थाले । इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर फर्किएका १७ वर्षका स्टार क्रिकेटर सन्दीप लामिछानेलाई उनले आफू १७ वर्षको हुँदा अर्का होटल व्यवसायी युवराज श्रेष्ठसँग मिलेर भव्य सम्मान गरे । ‘नयाँ पुस्ताले नयाँ पुस्तालाई बुझ्छ’ भन्ने उनको मान्यता छ । उनी क्रिकेटर सन्दीप लामिछानेलाई युवा पुस्ताको ‘रोलमोडल’ मान्छन् ।
उनका हजुरबा प्रदीपजंग पाण्डेले सन् १९८५ मा सुरु गरेको औषधी कम्पनी हो, लोमस फर्मास्युटिकल्स । डुबिसकेको कम्पनी किनेर उनी चार वर्षमै नेपालकै एक नम्बर औषधी कम्पनी बनाउन सफल भए । गोंगबुमा भएको उद्योगलाई गोठाटारमा सारे । त्यसबाट तीन सयभन्दा बढी औषधि उत्पादन हुन्छन् भने ११ देशमा औषधी पुग्छन् । नाभि मलम एकदमै प्रख्यात छ ।
लोमस ग्रुप अन्तर्गत अहिले औषधी, सिमेन्ट, बैंक, इन्स्योरेन्स, हाइड्रोपावर, एयरलाइन्स, पर्यटनलगायत क्षेत्रमा लगानी छ । यी सबै कम्पनीमार्फत पाँच हजारभन्दा बढीले रोजगारी पाएका छन् । लोमस ग्रुपका लोमस फमास्युटिकल्स र लोमस परेन्टरल्स एन्ड फर्मुलेसन गरी दुई औषधी उद्योगले नेपालको औषधी बजारमा ६ प्रतिशत हिस्सा ओगट्छन् ।
प्रणवजंग हजुरबुबाको विचारसँग सहमत छन्, ‘सफल उद्योगीको पहिचान भनेकै निरन्तर उद्योग व्यवसाय क्षेत्रमा समर्पित भई रोजगार वृद्धि गर्नु र राष्ट्रको अर्थतन्त्रमा टेवा पुर्याउनु हो । उद्योगीको यात्रा कठिन परिस्थितिमा पनि सकारात्मक सोचसहित निरन्तर अघि बढ्नुपर्छ ।’
हजुरबा प्रदीपजंग २०४२ सम्म खानेपानी तथा ढल निकास विभागमा लेखा अधिकृत थिए । जागिर छाडेपछि उनले व्यवसाय सुरु गरे । उनले नेपालमा औषधी नै उत्पादन नभएको र अधिकांश औषधी पूर्णतः आयातमा भर पर्नुपर्ने अवस्थामा लोमस सुरु गरेका थिए । औषधी उद्योगलाई सही मार्गमा ल्याएको १८ वर्षपछि उनले कसमस सिमेन्ट इन्डस्ट्रिज प्रालि स्थापना गरे र जनकपुरमा क्लिंकरसमेत उत्पादन गरिरहेका छन् । तेज र पूर्वेली ब्रान्डका सिमेन्ट चर्चित छन् ।
बिस्तारै उनले शिखर इन्स्योरेन्स कम्पनी, सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, सिभिल बैंक, कैलाश हेलिकप्टर्स आदिमा लगानी गरे । तादीखोला आयोजनाले ५ मेगावाट बिजुली उत्पादन गर्छ भने मिस्त्री खोला आयोजनाले ४२ मेगावाट ।
प्रणवका बूढो हजुरबुबा नेपाली कांग्रेसका नेता गणेशमान सिंहका बालसखा थिए । त्यसैकारण पञ्चायतकालमा हजुरबा प्रदीपजंगलाई आर्थिक अनियमितताको झूटो आरोप लाग्यो । २०४२ मै राजा वीरेन्द्रले हुकम प्रमांगीबाट कैद र जरिवाना आममाफी गरिसकेको सजाय ३० वर्षपछि उनी नेपाल उद्योग वाणिज्य महासंघको बहालवाला अध्यक्ष हुँदा पुनः बल्झियो । गणतन्त्रकालमा राष्ट्रपतिबाट फेरि सजाय मिनाहा गर्दा पनि उनले ‘कर्पोरेट गेमप्लान’का कारण काराबास भोग्नुपर्यो ।
‘हजुरबाले यसलाई दुःखभन्दा पनि नेपालको कानुन बुझ्ने अवसरका रुपमा लिनुभयो, हरेस खाने त उहाँको स्वभावै छैन,’ प्रणव भन्छन्, ‘कतिपय मानिस बाहिर कतै घुम्न गए भने दुई-चार दिन अफिसै नगई घरमा आराम गरेर बस्छन् । हाम्रा हजुरबा जनकपुरबाट काठमाडौँ आउनुभयो भने सीधै आफ्नो अफिस पुग्नुहुन्छ । कहाँ के समस्या परेको छ, त्यो समाधान गर्नुहुन्छ ।’
प्रणवजंग हजुरबाप्रति किन पनि कृतज्ञ छन् भने सानै उमेरमा कम्पनीमा पस्नासाथ उनले एल.सी.बारे थाहा पाए । बैंक ग्यारेन्टीबारे बुझे । ब्यालेन्स सिट हेरे । स्टक अनि क्वालिटीबारे थाहा पाए । सप्लाई म्यानेजमेन्टबारे परिचित भए । डिटिजल मार्केटिङ सुरु गरे ।
त्यसो त बाउबाजेको पुर्ख्यौली व्यवसायमा मात्र खुम्चिएका छैनन् प्रणव । उनले स्टार्टअप पनि सुरु गरेका छन्, अनलाइन सपिङ । संयुक्त राज्य अमेरिकाका सबै खाले प्रोडक्ट ‘प्रिअर्डर’ लिएर त्यहीँकै सुपथ मूल्यमा बेच्छन् । यसबीचमा चीनबाट अक्सिजन सिलिन्डर पनि ल्याएर बेचे । १७ वर्षको उमेरमा दुई–तीन करोडको कारोबार गरे ।
प्रणव सेयर बजारमा पनि उत्तिकै सक्रिय छन् । वर्षेनी नयाँ नयाँ स्टार्टअप सुरु गर्ने उनको इच्छा छ । त्यसका लागि ‘डाइरेक्ट सेल’सँग कुराकानी अगाडि बढाइरहेका छन् । उनी निर्देशक रहेको लोमस अहिले रसियन भ्याक्सिनको एजेन्ट पनि हो ।
साहित्यमा पनि प्रणवजंगको रुचि छ । लकडाउनमा उनले लेखेको कविता लगभग भाइरल भयो । ‘आऊ कोरोना आऊ’ । २०७७ वैशाख २५ मा लेखेको त्यही कविता ‘कोरोना र नेपाल’ को केही अंशः
आऊ कोराना आऊ
मानिसमा चेतना जगाऊ
आफैलाई ठूलो र घमण्डी सोच्नेलाई
तिम्रो डर जगाइदेऊ
र भलादमी हुन सिकाइदेऊ
चेताएर
आफ्नो बाटो लगाई जाऊ ।
विश्व राज गर्ने अंग्रेज समेत
आउन सकेन नेपालमा
हामी नेपाली छौ
तेत्तीस कोटी देवीदेउताको शरणमा
तिमी त छौ एकदमै सानो प्राणी
नेपालबाट छिट्टै जाऊ
यदि तिमी हौ भने बुद्धिमानी ।
साहित्यमा पनि प्रणवका गुरु हजुरबा प्रदीपराज पाण्डे र कवि वसन्त चौधरी हुन् । उनी टेबुल टेनिस र गल्फ पनि खेल्छन् । उनले आफ्नो भविष्यबारे पनि सोचिसकेका छन् । बढीमा दुई वर्ष नेपाल बाहिर पढेर आउने, त्यसपछि ढुक्कसँग नेपालमै व्यापार-व्यवसायमा जम्ने । शुभकामना किशोर व्यवसायी प्रणवजंगलाई ।
source:reportersnepal.com
