By Dikendra
झापा । दमक नगर ईसाई समाजको आयोजनामा राल्फ माहोनीद्वारा लिखित र नेपाली भाषामा अनुवाद गरिएको पुस्तक गोठालोको लौरो शुक्रबार एक विशेष कार्यक्रममार्फत वितरण गरिएको छ। कार्यक्रम दमक–५ स्थित कर्नरस्टोन चर्चमा सम्पन्न भएको थियो।
झापा, मोरङ, र इलाम जिल्लाबाट झण्डै १५० जना पास्टर र चर्चका अगुवाहरुको उपस्थिति रहेको कार्यक्रममा, पुस्तकले मण्डलीका अगुवाहरुलाई विश्वासमा बलियो बनाउँदै येशु ख्रिस्टका असल चेलाहरूको रुपमा प्रभावकारी नेतृत्व गर्न मद्दत गर्ने लक्ष्य लिएको आयोजकले जानकारी गराएको छ।
गोठालोको लौरो (Shepherd’s Staff) पुस्तक यसअघि अंग्रेजी र हिन्दी भाषामा उपलब्ध भए पनि नेपाली संस्करण उपलब्ध थिएन। दक्षिण भारतका डा. अमरुद आनन्द, पास्टर त्रियोगी चौधरी र टिमको अथक प्रयासले केही समयअघि यस पुस्तकलाई नेपाली भाषामा अनुवाद गरिएको हो।
दमक नगर ईसाई समाजका अध्यक्ष पास्टर हेमन्त सुब्बाका अनुसार, यो पुस्तक मण्डलीका अगुवाहरुलाई सुसमाचार प्रचारमा प्रभावशाली सेवक बन्ने ज्ञान प्रदान गर्ने र मण्डलीलाई विश्वासमा बलियो बनाउन अत्यन्त उपयोगी छ।
कार्यक्रमको सञ्चालन समाजका सहसचिव पास्टर दीपक कार्कीले गर्नुभएको थियो भने शुभारम्भ प्रार्थना सल्लाहकार पास्टर दावा शेर्पाले गर्नुभएको थियो। समापन प्रार्थना सल्लाहकार पास्टर राज कुमार राईले गर्नुभएको थियो। उहाँले पुस्तक वितरण सम्भव बनाउन लामो समयदेखि गरिएको प्रार्थना र अथक प्रयासलाई स्मरण गर्दै यसको महत्त्व झल्काउनुभयो।
कार्यक्रममा सहभागी पास्टर र अगुवाहरुले यस पुस्तकलाई आफ्नो सेवकाइको मार्गदर्शनका लागि अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे।
‘गोठालोको लौरो’ पुस्तक वितरणले झापा, मोरङ र इलामका चर्च अगुवाहरुको सेवामा नयाँ दिशा प्रदान गरेको छ। दमक नगर ईसाई समाजले यस किसिमका कार्यक्रमले मण्डली र समाजलाई विश्वास र सेवामा एकजुट गर्न थप प्रेरणा दिने विश्वास लिएको छ।
